बागलुङ / पशुचौपाया निसेलढोर र बुकीसम्म चराउन लैजानुपर्छ । त्यतिबेला शर्मिला बाबुलाई खानेकुरा छोड्न नियमित बुकी जान्छिन् । ४ हजार ७ सय मिटर उचाइको बुकी लेकमा शर्मिला छिमेकी साथीहरुसँग भारी खेप्दै नियमित पुग्छिन् ।
गतवर्षको राष्ट्रपति रनिङ शिल्डमा गाउँपालिका, जिल्ला, प्रदेश जितेर पनि राष्ट्रिय खेल जित्न नसकेकी १४ वर्षकी शर्मिला बिक यसपटक भने जित्ने लक्ष्यमा छन् ।
निसीखेला गाउँपालिका–५ की शर्मिलाले गत पुसमा भएको जिल्लास्तरीय र फागुन १० देखि १२ गतेसम्म नवलपुरमा भएको गण्डकी प्रदेश स्तरीय एथलेटिक्समा स्वर्ण पदक जितेकी छिन् । अब राष्ट्रिय खेल जीत हात पार्ने उनको सपना छ ।
जिल्लास्तरीय खेलकुदमा भाग लिन आउँदामात्रै सदरमुकाम पहिलोपटक टेकेकी शर्मिलाले खेलकै कारण विभिन्न जिल्ला पुग्ने अबसर पाएको सुनाइन् । पढाइमा मध्यम रहेकी शर्मिला खेलमा भने अब्बल बन्दैछन् । बाबु गजबहादुर बिककी माइली छोरी शर्मिला दौड प्रतियोगितामा कहिल्यै रित्तो हात फर्केकी छैनन् ।
गतवर्ष कक्षा सातमा पढ्दा उनी १३ वर्षकी मात्रै थिइन् । खेल शिक्षक लोकेन्द्र चन्दले उनलाई दौडमा भाग लिन हौस्याएका थिए । गत बर्षको खेलमा उनी गण्डकी प्रदेश च्याम्पियन बनिन् । १ हजार ५ सय र ३ हजार मिटर दौडमा सहज जित निकाल्दा स्वर्ण पदक जितेकी शर्मिला राष्ट्रव्यापी खेलमा भने दोश्रो बनिन् ।
त्यही हौसलाले अहिले उनी फेरी १२ औं राष्ट्रपति कप खेलकुदमा पालिकाबाट जिल्ला, प्रदेशहुँदै राष्ट्रिय खेलमा प्रवेश गरिसकेकी छिन् । उनले ३ हजार मिटर दौड १३ मिनेट ४ सेकेण्डमा पार गरेर स्वर्ण पदक हात पारिन् । १ हजार ५ सय मिटर दौडमा पनि उनले स्वर्ण जितिन् । ‘मैले आफ्नै स्कोरमा खेल्नु छ,’ उनले भनिन्, ‘अब राष्ट्रिय खेल जित्ने र अन्य म्याराथनमा भाग लिने इच्छा छ ।’ नियमित अभ्यास भएमा लक्ष्य भेट्टाउने उनको भनाइ छ ।
बाबु गजबहादुरका ४० भेडा र ४ भैंसी छन् । आमालाई घरको काममा सहयोग गरेर शर्मिला पढ्न जान्छिन् । बेलाबेला बाबुलाई सघाउनुपर्ने उनको बाध्यता छ । बिद्यालय र पालिका तहको प्रतियोगितामा प्रथम भएपछि मात्र उनले सदरमुकाम देख्न पाइन् ।
उनका पशुचौपाया निसेलढोर र बुकीसम्म चराउन लैजानुपर्छ । त्यतिबेला शर्मिला बाबुलाई खानेकुरा छोड्न नियमित बुकी जान्छिन् । ‘वर्षमा १० देखि १२ पटकसम्म बुकी जाने गरेकी छु,’ उनले भनिन्, ‘निसेलढोरबाट एकै दिनमा बुकी पुगिन्छ ।’ ४ हजार ७ सय मिटर उचाइको बुकी लेकमा शर्मिला छिमेकी साथीहरुसँग भारी खेप्दै नियमित पुग्छिन् । हाइ अल्टिच्यूटमा सहजै यात्रा गरेकोले उनले दौडमा पनि सहज महसुस गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए ।
आर्थिक रुपमा समस्या भएकोले पढ्ने लेख्ने काम भ्याएर खेलको अभ्यास गर्न भने शर्मिलालाई संभव छैन । उकाली–ओरालीले मात्रै उनलाई यतिसम्मको सक्षम बनाएको ज्ञानेन्द्र मावि निसीखोलाका शिक्षक लोकेन्द्र चन्दले बताए ।





