कपिलवस्तु / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीहरूको आस्थालाई बुझेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा शनिवार कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ ले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परिरहेको समयमा बौद्धमार्गीहरूको आस्थालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
“हाम्रो मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोत साधनको अध्ययन गर्नेतर्फ आधुनिक बजार उत्साहित छैन । त्यसमा बौद्ध दर्शन जस्तो गहन दर्शन पनि प्रभावित छ, ‘प्रधानमन्त्री प्रचण्डले भने, “विश्वमा ५२ करोड जनसङ्ख्याको आस्थाको विषय बनेको बौद्ध दर्शन त्यसभित्र अन्तर्निहित सामाजिक र दार्शनिक कुराहरू अहिलेको समाजलाई नभई नहुने कुराहरू हुन् । यसलाई विश्वव्यापीकरण गर्नु हामी सबैको साझा दायित्व हो ।’
इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययताको लागि अनुपम स्रोतको रूपमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि यो ठूलो अवसर भएको उल्लेख गरे । उनले यीनै विषयलाई मनन् गरी विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययन अध्यापन संरक्षण तथा सम्बर्द्धनका कार्यक्रम अगाडि बताउनुपर्नेमा जोड दिए ।
‘नेपाल बुद्ध भूमि, हजारौं ऋषिमुनीहरूको योगदानले निर्माण गरेको तपोभूमि हो, त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसको प्रवर्द्धन गर्ने दायित्व हामीसँग छ । बौद्ध संस्कृति, कला, विहार तथा गुम्बा संसारकै लागि आकर्षणका सम्पदाहरू हुन् । यिनलाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने प्रवल सम्भावना छ ।’





