पोखरा/ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो पटक गठबन्धन फेरेर प्रधानमन्त्री पदलाई निरन्तरता दिँदै गर्दा प्रदेशमा भने तीनपटक सरकार फेरिँदैछन । प्रदेश सरकारहरु एक वर्षमै तेश्रोपटक फेरिँदै गर्दा यसपटक भन्ने गण्डकीको मुख्यमन्त्री बनिन्छ कि भन्ने आशामा छन, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान । आफ्नै पार्टीका अध्यक्षले गठबन्धनको काँध फेरिरहेर प्रधानमन्त्री पद टिकाइरहँदा चुमान पनि एउटा गठबन्धनबाट मुख्यमन्त्री बन्छु भन्ने आशा पालेका हुन् ।
२०७९ पुस १० गते नेकपा एमालेसहित एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति गरी सात दलीय गठबन्धन बनेको थियो । तर, कांग्रेसले त्यो गठबन्धनलाई दुई महिना टिक्न दिएन । राष्ट्रपति उम्मेदवार मनोनयनका बेला २०७९ फागुन १२ गते नै एमाले–माओवादीसहितको गठबन्धन टुट्यो । सात दल र ३ स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा पुस ११ गते प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसको गठबन्धन टुटाउने रणनीतिका कारण संसदमा लगभग सबै सांसदको मत पाए । त्यसपछि प्रतिपक्षमा पुगेको एमाले पुन एक वर्षपछि सत्तामा पुनरागमन गरेको छ ।
यसपटक भने प्रचण्डले पुष १० को गठबन्धनको सहारा लिए । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशमा देखिन सुरु भइसकेको छ ।
मुख्यमन्त्री बन्नको लागि गतसाल पुष १० गते काठमाडौंबाट पोखरा आइपुगेका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्यतिबेला भनेका थिए, ‘म सकुसल पोखरा आइपुगेँ तर राजनीति क्र्यास भयो ।’एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका प्रचण्ड प्रधानमन्त्री बन्दा उनी मुख्यमन्त्री बन्न भने वैशाख १४ सम्म कुर्नुप¥यो । तर, सरकार चलाएको एक वर्ष नपुग्दै राजनीति भने पाण्डेको भाषामा पुन क्र्यास भएको छ । नयाँ गठबन्धन बनाएर नयाँ सरकार बन्ने क्रम चलिरहँदा पाण्डे भने अस्वस्थ छन ।
यता, प्रदेशसभामा दोहो¥याएर चुनाव जितेका माओवादी दलका नेता चुमान भने मुख्यमन्त्री बन्नका लागि दाबी गरिसकेका छन ।फेरि मुख्यमन्त्री बन्ने पालो आयो त तपाइको ? यो प्रश्नमा उनले भने, ‘खै अब केके गर्छन, गर्छन, के भन्न सकिन्छ र ?’
केन्द्रमा सत्ता फेरिएपछि प्रदेशमा पनि स्वत फेरिनेमा कुनै संशय छैन । तर, उनमा मुख्यमन्त्री बन्ने आशा भने अधिक छ ।
‘अब त दिनैपर्ने हो क्यारे, माओवादीले गण्डकीमा एकपटक पनि नेतृत्व गर्न पाएको छैन, सुरेन्द्रजी बन्दा पनि पहिलो पालो मेरो भनेको हो, फुत्कियो । खगराज बन्दा पनि पहिला मलाई दिनुप¥यो भन्दा होइन आलोपालो हो, म अगाडि तपाई पछि भने,’उनले भने ।
मुख्यमन्त्रीमा आफ्नो सशक्त दाबी रहेको विषयमा स्वयं प्रचण्ड नै जानकार रहेको उनको भनाइ छ । ‘हामीले निर्णय गर्न पाउने होइन, केन्द्रले निर्णय गर्ने हो । केन्द्रमा शीर्ष नेताहरु बस्छन, टुंग्याइदिन्छन । मेरो दाबी छ भन्ने सबै नेताहरुलाई थाहा छ,’ चुमानले भने ।
गतसाल खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका चुमानले उक्त एमाले माओवादीको गठबन्धन टुट्नासाथ मुख्यमन्त्री बन्न चर्को लबिइङ गरेका थिए ।
‘हामीले दुई÷दुईपटक एमालेलाई मुख्यमन्त्री बनायौँ, एकपटक कांग्रेसलाई मुख्यमन्त्री बनाइसक्यौँ, अब हाम्रो पालो हो । गण्डकीको मुख्यमन्त्री हामीले पाउनुपर्छ,’ चुमानले यही कुरा शीर्ष नेताहरुलाई सुनाएका थिए । तर, त्यतिबेला संसदको सबैभन्दा ठुलो दल कांग्रेसलाई पहिला नेतृत्व दिने निर्णय केन्द्रले गर्दा चुमान मुख्यमन्त्री बन्न पाएनन । उनको ठाउँमा मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले केही वर्ष नेतृत्व गर्ने र बाँकी कार्यकाल चुमानले चलाउने सहमति भएको थियो ।
उक्त सहमति केन्द्रको गठबन्धन अदलबदलले फेरि प्रभावित बनेको छ । गण्डकीमा अब पुरानै एमाले, माओवादी र राप्रपा गठबन्धनको सकार बन्ने सम्भावना छ । यही नयाँ सरकार बन्दा सरकारको नेतृत्व लिने चाहना चुमानमा छ । तर, एमाले र माओवादी मिलेको खण्डमा मात्रै सरकार बन्न सम्भव छैन । यो गठबन्धनलाई राप्रपाको अनिवार्य समर्थन चाहिन्छ ।
कारण गण्डकीमा एमालेका २२ जना प्रदेशसभा सदस्य छन । माओवादीका ७ (सभामुखबाहेक) , राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका १ जना प्रदेशसभा सदस्य छन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ जना सदस्यको समर्थन चाहिन्छ । अहिलेको सत्तासीन दल नेपाली कांग्रेससँग गण्डकीमा २७ जना प्रदेशसभा सदस्य छन ।





