पोखरा/स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिने भएको छ ।
पूर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई संघको बैठकले सर्वसम्मत अनुमोदन गरेको कास्की शाखा सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।
उक्त सम्मानबाट यस अघि अग्रज पत्रकार दुर्गा अधिकारी (रेडियो सफलता), शीला गुरुङ (रेडियो नेपाल) रविना आले मगर (रेडियो तरङ्ग), शान्ति राणा (रेडियो नेपाल), ईश्वरी पौडेल (परिज्ञान साप्ताहिक), सीता दर्नाल (रुपन्देही), मनिता राई (सुनसरी), सविता तिवारी (गैडाकोट) सम्मानित भइसकेका छन् ।
तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने संघका कोषाध्यक्ष ओम उपाध्याय बताउँछन् ।
तामाङलाई यही फाल्गुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोह बीच सम्मान अर्पण गरिने शाखा अध्यक्ष असफल गौतमले जानकारी दिए ।





