पोखरा / गत सोमबार बनेको चारदलीय नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिगमनकारी भन्दै सरकारमा सहभागी नगराउने निर्णय ग¥यो । नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर केन्द्रमा नयाँ गठबन्धन बनाउँदा राप्रपालाई बाइपास गरे ।
त्यसको प्रभावले गण्डकी प्रदेश मध्यावधि उन्मुख बनेको छ । नयाँ गठबन्धनलाई सरकार चलाउन यहाँ राप्रपा नभई हुँदैन । राप्रपालाई बिच्क्याएर सरकार बनाउन नसकिने बुझेको यहाँको गठबन्धनले राप्रपालाई कसरी फकाउने भन्ने समाधान खोज्नुपर्नेमा झनै अर्को समस्या थपिएको छ ।
गण्डकीमा माओवादीले आफ्ना ८ सांसद रहेको दाबी गर्छ । माओवादीले प्रत्यक्षतर्फ पाँच सिट र समानुपातिकतर्फ एक सिट जितेको बताउँदै आएको छ । तर, गोरखा २ बाट प्रदेशसभामा निर्वाचित भएका फणिन्द्र देवकोटा भने डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट उमेदवार बनेर चुनाव जितेका हुन । तर, उनी उमेदवार बन्दैगर्दा तत्कालीन गठबन्धनमा आबद्ध माओवादी केन्द्रको हँसिया हथौडाबाट चुनाव जितेका थिए ।
त्यही कारण देखाएर माओवादीले देवकोटालाई पनि आफ्नो प्रदेशसभा सदस्य दाबी गर्दै आइरहेको छ । तर, देवकोटा यसलाई स्विकार्दैनन, बरु उनले छुट्टै स्पेस खोजेका छन ।
अर्कातर्फ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रुपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
निर्वाचन आयोगले अहिले नै उक्त विषयबारे टुंगो लगाइसकेको छैन । नेसपाले संघीय संसद सचिवालयमा पनि नेसपाको सांसदको रुपमा विवरण अभिलेख गरिदिन माग गर्दै निवेदन दिएको छ । संसद सचिवालयले पनि यसबारे निर्णय लिइसकेको अवस्था छैन ।
संयुक्त चुनाव चिह्नबाट चुनाव लडेकाहरुमध्ये आफू कुन दलबाट चुनाव लडेको हो त्यही दलको रुपमा विवरण अद्यावधिकका लागि निवेदन दिन सक्छन । यस्तो अवस्थामा निर्वाचन आयोगले निवेदन दिने जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा दल छुट्याएर विवरण अखिलेख गरिदिन सक्ने व्यवस्था छ ।
राजनीतिक दल सम्बन्धी ऐनले दुई वा दुई भन्दा बढी दल एउटै चुनाव चिह्नमा चुनाव लड्न सक्ने व्यवस्था गरेको र सोही ऐन अनुसार निर्वाचित भएपछि छुट्टिन चाहँदा निर्णय हुने बताउँछन् । राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिई दुई वा दुई भन्दा बढी दलहरुले चुनाव लड्न सक्ने व्यवस्था छ ।
ऐनको सोही दफा अनुसार निर्वाचनमा चुनाव चिन्ह मात्र प्रयोग गरिएको देवकोटाको भनाई छ । बुधबार बिहान माओवादी संसदीय दलले गण्डकी प्रदेश सरकारलाई समर्थन फिर्ता लिने निर्णय ग¥यो । उक्त महत्वपूर्ण बैठकमा देवकोटा गएनन मात्र, आफू नेसपाको सांसद भएको दाबी गरे ।
“नेपाल समाजवादी पार्टी छुट्टै पार्टी हो । संविधानले पार्टी खोल्ने, निर्वाचनमा भाग लिने अधिकार दिएको छ । संविधानको भाग २९ ले त्यो अधिकार दिएको छ र नेसपा त्यसरी नै दर्ता भएको पार्टी हो । अर्कातर्फ निर्वाचन कानूनले पनि एकल चुनाव चिन्ह लिई चुनावमा भाग लिन पाइन्छ भनेको छ । हामीले चुनाव चिन्ह लिएपनि हाम्रो पार्टी त छुट्टै हो नि । निर्वाचनको बेलामा नेसपा र माओवादी बिच चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको हो । पार्टी एकता त भएको छैन नि ।” उनले भने ।
गण्डकीमा २०७९ को निर्वाचनपछि सुरुमा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा खगराज अधिकारी नेतृत्वको सरकार बन्यो । उक्त सरकार १०५ दिनमा ढलेपछि कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनको सरकार बन्यो ।
अहिले भने उक्त सरकार पनि अल्पमतमा परिसकेको छ । बुधबार माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीस दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
उनले संविधानको धारा १८८ (२) अनुसार विश्वासको मत नपाए ३ अनुसार स्वतः पदमुक्त हुन्छ । उनको विकल्पमा नयाँ सरकार बन्न पनि उत्तिकै जटिल छ । राप्रपा आएको खण्डमा मात्र नयाँ सरकार बन्ने अवस्था छ । तर, देवकोटालाई नेसपाले सरकारमा नजान भनेको खण्डमा राप्रपा आएपनि गठबन्धनको सरकार भन्ने नबन्ने देखिन्छ ।
एमालेका २२, माओवादीबाट सभामुख बाहेक र देवकोटा सहित ७, राप्रपाका २ गरि ३१ जनाको टुपुक्क बहुमत पुग्छ । तर, बाबुराम भट्टराइको पार्टीले सरकारमा नजाने निर्णय गरेको खण्डमा देवकोटाले यो गठबन्धनलाई समर्थन गर्दैनन । यसको अर्थ, नयाँ सरकार बन्न राप्रपा नआई सुखै छैन, आएपनि बहुमत पु¥याउन गाह्रो छ ।
देवकोटाले अहिले पार्टीको निर्देशन कुरेर बसिरहेका छन । उनी माओवादी दलको बैठकमा गएनन, बरु छलफलहरुमा आफूहरुलाई सहभागी नगराइएकोमा आक्रोश पोखरे ।
“अनि यो पार्टीलाई कुनै छलफल, निर्णय प्रक्रियामा बोलाउनु पर्दैन ? के हामी जहाँ बाजा बजेको छ, गएर नाचिहाल्ने, प्लेट लिएर गएर भात खाइहाल्ने हो र ? मलाई पार्टीले केही निर्देशन गरेको छैन, पार्टीको निर्देशन पर्खेर बसेको छु । के निर्णय आउँछ, त्यही अनुसार गर्छु ।” उनले भने ।
हँसिया हथौडा चुनाव चिन्हबाट जितेको भन्दै माओवादीले भने उनलाई आफ्नै सांसद रहेको दाबी गर्दै आइरहेको छ । बुधबार संसदीय दलको बैठकपछि पनि नेताहरुले उनलाई माओवादीको सांसद होइन भन्ने हो भने ४० प्रतिशत बहुमत लिएर पार्टी फुटाउन चुनौती दिए । तर, देवकोटा भने सहमति अनुसार नै चुनाव चिन्ह प्रयोग गरिएको बताउँछन ।
“गठबन्धनमा रहेर मत साटिएको हो, हामीले एकअर्कालाई मत दिएका हौँ । अहिले चाहिँ यो कित्ताकाट अलिक जटिल बन्यो । नेताहरुले आफ्नो अनुकुलता गर्दा हामी बेवकुफ जस्तो भइयो । हामीले किन अरुलाई शत्रु मान्ने भनेर चुप लागेर बसेको हुँ ।” उनले भने, “मलाई माओवादी संसदीय दलका नेताले पनि बैठकमा आउनुपर्छ भनेर भन्नुभएको थियो, मैले चाहिँ आफ्नो कुरा राखेर आउँदिन, अन्यथा नमान्नुहोस भनेको हुँ ।”





