पोखरा/पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामाभएको कार्यक्रममा वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतले विद्यालयका संस्थापक प्रधानाध्यापक, अध्यक्ष, शिक्षकलगायत हालसम्म योगदान गर्ने व्यक्तिहरूलाई विद्यालयका तर्फबाट सम्मान गरेका हुन् ।
दिवङ्गत भएका पूर्वप्रअहरू सारु मगर, केशवलाल भुजेल, खिलनाथ पराजुली, ओमनाथ बाँस्तोला र लोकबहादुर ताम्राकार तथा पूर्व अध्यक्षहरू दिननाथ त्रिपाठी, झलकनारायण श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, नारायणदत्त गौतम र बद्रिनाथ अधिकारीको मरणेपरान्त सम्मान परिवारलाई हस्तान्तरण गरिएको थियो ।
सम्मानित हुने अन्य व्यक्तिहरूमा पूर्वअध्यक्षहरू दयाराम न्यौपाने, दिननाथ च्वाईँ, टीकाराम बाँस्तोला, बुद्धिनाथ जमरकट्टेल, भुवानीप्रसाद बाँस्तोला, बाबुराम ढकाल, भवानीप्रसाद अधिकारी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्षद्वय बाबुराम थापा र नन्दबहादुर गुरुङ, पूर्व प्रअहरू अर्जुन बन्जारा, इमनाथ च्वाईँ र अमृता न्यौपाने तिवारी तथा हाल कार्यरत शिक्षकहरू भवानीप्रसाद सुवेदी र विमला शर्मा रहेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले आजको सिकाइ विद्यालयको चौघेरामा मात्र सीमित नरहेको भन्दै यस्ता औपचारिक कार्यक्रम सिकाइको महत्वपूर्ण माध्यम बन्ने धारणा राखे । विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उन्नतिका लागि विभिन्न कार्ययोजनाहरू प्रस्तुत गरे ।





