बागलुङ/सधैंजसो कक्षा आरम्भ हुँदा हातमा हाँजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षा कोठा प्रबेश गर्ने शिक्षिका सुशिला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर कक्षा कोठामा पुगिन् । न्यू एभरेष्ठ एकेडेमिको नर्सरि कक्षाकी कक्षा शिक्षक रहेकी श्रेष्ठ सोमबार विद्यालयमा पठनपाठन सुरु हुँदा बित्तिकै कक्षा ७ मा प्रबेश गरिन् । उनीसँगै अन्य शिक्षिकाहरु पनि साथमै थिए ।
सधै जसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थीहरु पनि सोमबार फरक भूमिकामा थिए । सबै विद्यार्थी कक्षा कोठाको भुँइमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए । बागलुङ नगरपालिका, १ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमिले उनीहरुलाई व्यवहारिक सीप सिकाउने प्रयास गर्दै थियो । सोमबार विद्यालयले दुना टपरी निर्माण गर्न सिकाएको छ । सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीहरुलाई जीवनोपयोगी सीप तथा व्यवहारिक शिक्षा दिन ग्याल्पो ल्होछारको अवसरमा विद्यालयले दुना टपरी गाँस्न सिकाएको हो ।
गाउँघरमा धार्मिक तथा बिशेष कार्यक्रमहरुमा प्रयोग गर्ने दुना, टपरी बनाउन विद्यार्थीलाई सिकाउनु आवश्यक भएको विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारी बताउँछन् । शिक्षिकाहरुको बिचमा बसेर पात गाँस्दै गरेकि कक्षा १० मा अध्ययनरत पुजा सापकोटा र कक्षा ९ कि विद्यार्थी रोश्नी जिसिले अव घर गाउँमा पुजाआजा र अनुष्ठानहरु हुँदा आँफुहरु पनि पात गाँस्न सिपालु भएको बताए । आमा हजुरआमाहरुले तयार गर्ने गरेका दुना टपरी अव आँफुहरुले पनि सघाउने बताए ।
घरमा पढाईले सिक्ने वातावरण नभएपनि विद्यालयले सिक्ने अबसर दिएको भन्दै जिसीले धन्यवाद दिईन् । विद्यार्थीहरुलाई अनिवार्य आवश्यक पर्ने ज्ञान, सिप र सांस्कृतिक पहिचान झल्किने कार्यक्रमले उनिहरुलाई सामाजिक बन्न प्रेरित गराउनुका साथै सकारात्मक सोचको विकास गराउने शिक्षिका ठम्याइ छ ।
संस्कृति र परम्पराको जर्गेना गर्न र सीप सिकाउन विद्यालय उमेरका बालबालिकाहरुलाईज्ञान दिन मौलिक कार्यक्रमको आयोजना गरिएको शिक्षिका जुना हमालले बताइन् । ‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ, अनुभवी शिक्षिकाहरुले सहजीकरण गर्नुभएको छ । विद्यार्थीहरु सिक्न निकै उत्साहित छन्, प्रधानाध्यापक अधिकारीले भने, ‘हरेक घरमा हुने पूजाआजा लगायतका धार्मिक काममा दुनाटपरीको खाँचो पर्छ, अहिलेको नयाँ पुस्तालाई हामीले यस्ता ज्ञान सिकाएर पोख्त बनाउन सके यस्ता मौलिक संस्कार र संस्कृतीहरु हराउँदै जाने खतरा हुँदैन ।’ व्यवहारिक सीप विकासका लागि पहिलो चरणमा दुनाटपरी बनाउन सिकाएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिईने उनले बताए । कपासका बत्ती कात्न, चोया काढ्न, बासबाट तयार हुनेसामाग्रीहरु निर्माण गर्न सिकाउने र क्रमशः प्रतियोगिताका रुपमा सञ्चालन गरि विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको विद्यालयका अधिकारीको भनाइ छ ।





