बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

आन्दोलन हैन, आन्तरिक छानबिनमा सूर्यदर्शन सहकारी पीडितहरु

आन्दोलन हैन, आन्तरिक छानबिनमा सूर्यदर्शन सहकारी पीडितहरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०८०, शुक्रबार

पोखरा/ काठमाडौं केन्द्रीत भनिएको सहकारी पीडितहरुको संघर्षमा पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले सहभागिता जनाएका छैनन् । सडकमा उफ्रेरमात्र समस्याको समाधान नहुने र थप दुःखमात्र हुने भएकाले सहकारी बचतकर्ता राष्ट्रिय अभियान महासंघको ब्यानरमा भएको सो आन्दोलनमा सहभागिता नजनाएको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जिकिर गरेका छन् ।

‘अस्ति मिटरब्याजीहरुलाई रविजीले (उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने) चकलेट खुवाएर पठाउनुभयो,अब कहिलेदेखि फेरि गाली गर्नुपर्ने होला,’ उनले भने, ‘सडकमा उफ्रेरमात्र पनि हुँदैन । आन्दोलनको नेतृत्व गर्नेहरुको नियत पनि पीडितबाट लाभ लिनेजस्तो लागेकाले हामी सहभागी नभएका हौँ ।’

पोखरामा रहेका सहकारी पीडितहरु यतिबेलासहकारीको ऋण अपचलन गर्नेहरुको फेहरिस्त तयार पार्ने काममा जुटिरहेकाले पनि काठमाडौं नगएका हुन् । संयोजक श्रेष्ठका अनुसार उनीसहितको टोली यतिबेला सहकारीबाट क–कसले ऋण लगेका छन् र कसले अपचलन गरेको छ भन्ने प्रमाण जुटाउन व्यस्त छन् ।

‘हामी करिब–करिब कसले सहकारीको रकम अपचलन गरेको छ भन्ने अन्तिम निष्कर्षमा पुग्न लागेका छौँ, तथ्य प्रमाणित हुने भएपछि त्यो कुरा सार्वजनिक गर्छौँ नै,’उनले भने,‘पीडितकै पैसा उठाउने र त्यहाँ पनि राजनीति गर्ने कुरातर्फ हामी लाग्दैनौँ ।’ सूर्यदर्शन सहकारी प्रकरणमा वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने स्वयं मुछिएका छन् । पोखरामा रहेका सूर्यदर्शन पीडितले उनलाई पनि ज्ञापनपत्र बुझाइसकेका छन् । त्यसो त, सूर्यदर्शन सहकारीको बचत हिनामिनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि छानबिन गरेको छ । फागुनको पहिलो हप्ता पोखरा आएको सीबीआईको टोलीले हाल पुर्पक्षका लागि कास्की कारागारमा रहेका व्यक्तिहरुबाट महत्वपूर्ण सूचनाहरु संकलन गरेको थियो । सो उपक्रममा पनि पीडितहरुले सीबीआईलाई महत्वपूर्ण सूचना दिएका थिए ।

त्यो बेला कास्की प्रहरीसँगको समन्वयमा कारागारमा रहेका सूचना प्रविधि (आईटी ) प्रमुख भविश्वर अर्याललाई जिल्ला प्रहरी कार्यालय हातामै ल्याएर अनुसन्धान गरिएको थियो ।

सूर्यदर्शन सहकारीका मुख्य अभियुक्त गीतेन्द्र बाबु (जीवी) राईको समूहले कास्कीमा मात्रै १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोग छ ।
सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । गितेन्द्र अहिलेसम्म फरार छन् भने हालसम्म सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी, पूर्वसंचालक समिति सदस्य शिवकुमार गुरुङ ( महेन्द्र भोटे) , गल्याङ ९,स्याङ्जाका बासिन्दा तथा संचालक समितिका सदस्य एवं आइटी प्रमुख भविश्वर अर्याल र अर्का सदस्य प्रमोद भट्टराई पुर्पक्षको लागि थुनामा छन् ।सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर जीवी राई, धीरजकुमार दास, हेमन्त अधिकारी, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन् ।

पोखरा महानगरपालिकाद्धारा गठित छानबिन समितिले सूर्यदर्शन सहकारी प्रकरणमा वर्तमान गृहमन्त्री रवि लामिछानेलाई पनि डामेको छ । यद्यपि, रविले आरोप अस्वीकार गर्दै आइरहेका छन् । रवि कार्यकारी निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा समेत सूर्यदर्शन सहकारीको ३० करोड लगानी रहेको कागज पनि सार्वजनिक भइसकेको छ । रविसहितका अन्य व्यक्तिहरु छानबिनको दायरामा नआएपछि सूर्यदर्शन सहकारी पीडितहरुले रास्वपा अध्यक्ष रवि र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित थप १८ जनाविरुद्ध पनि छानबिन हुनुपर्ने मागसहित कास्की प्रहरीका पुरक उजुरी दिएका छन् । त्यसमाथि पनि छानबिन भइरहेको कास्की प्रहरीले जनाएको छ ।

छानबिन समितिको सिफारिसको आधारमा सरकारी वकिलको कार्यालयले १९ जनालाईमात्र प्रतिवादी बनाएको तर प्रतिवेदनमा समेटिएका २ देखि ३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने संघर्ष समितिको माग छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->