पोखरा/लागूऔषधको दुव्र्यसनमा फसेर सुधार केन्द्रमा रहेकाहरु बीचमा भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा अन्तर लागूऔषध उपचार (पुनस्र्थापना) केन्द्र पुरुष भलिबल प्रतियोगिता शुक्रबार सेमिफाइनलसम्मका खेल सम्पन्न भएका छन् ।
पोखरा ९ शान्तिवनस्थित सामुदायिक सेवा प्रहरीको चौरमा भएको पहिलो सेमीफाइनल खेलमा गेट वे फाउन्डेसनलाई हराउँदै सेरेनिटी हाउसले फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमीफाइनल खेलमा हाम्रो परिवारलाई हराउँदै सिएसजी फाइनलमा प्रवेश गरेको छ ।
त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले यो निकै फरक किसिमको प्रतियोगिता रहेको सुनाए । नेपालमै पहिलोपटक यसरी सुधार केन्द्रमा रहेका बीचमा खेलकुद आयोजना हुनु सुखद भएको उनको भनाइ थियो ।
सोही क्रममा बोल्दै उनले गण्डकी प्रदेशमा उत्तरतर्फबाट चरेस, गाँथा, अफिम जस्ता लागूऔषध र दक्षिणतर्फबाट नाइट्रोभ्याट, फेनारगनलगायत विभिन्न किसिमका लागूऔषध भित्रिँदै आइरहेको सुनाए ।
लागुऔषधका लागि नेपाल ट्रान्जिट पोइन्ट बन्दै गर्दा गण्डकीमा कास्की ट्रान्जिट पोइन्टको रुपमा रहेको छ । तथ्यांकमा लागूऔषध भित्रिने स्थिति ६ प्रतिशतका दरले बढेको देखिए पनि प्रहरीको आँकलन अनुसार १५ प्रतिशतले बढेको एसपी थापाको भनाइ छ ।
प्रतियोगिताले लागूऔषध पछि नयाँ जीवन सुरु गर्न सुधार केन्द्रमा बसेकाहरुको मनोबल अभिवृद्धि र आशा जागाउनेमा उनी आशावादी देखिए ।
‘लागुऔषधको स्थिति बढ्दो क्रममा छ । हामीसँग लागूऔषध भित्रिने र प्रयोग गर्ने ६ प्रतिशतले बढेको तथ्यांक भए पनि प्रहरीकै आँकलन अनुसार भने यसको वृद्धि १५ प्रतिशत छ,’ उनले भने, ‘नेपाल लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गइरहेको छ । सबैभन्दा बढी लागूऔषध बिक्री– वितरण र कारोबार काठमाडौंमा छ । त्यो पछिको ठुलो कास्की हो ।’
नवजीवन सुधार केन्द्रका संयोजक तथा रिकोबरी नेपालका सदस्य राजेन्द्र ढकालले लागुऔषधले मानिसको स्नायु तन्तुमा असर गर्ने र यसको नतिजा गलत नै रहने बताए । उनले लागूऔषध रोग रहेकाले यसको उपचार गरे सम्भव हुने सुनाए ।
प्रतियोगितामा न्यू भिजन लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्र, मानव संरक्षण लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्र, नौलो घुम्ती लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, गेटवे फाउण्डेसन लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, सेरेनिटी हाउस लागूऔषध तथा मद्यपान उपचार केन्द्र, पिएसएसजी लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्र, सिएसजी लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्र, नवजीवन नेपाल लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रबाट टिम ए र बी, हाम्रो परिवार नेपाल लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्र, रिचमण्ड फेलोसिप लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रको टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।





