बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

मनाङेलाई नेकपा एसले सोध्यो स्पष्टिकरण

मनाङेलाई नेकपा एसले सोध्यो स्पष्टिकरण


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८०, बिहिबार

पोखरा/ गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई नेकपा एकीकृत समाजवादी (एस) ले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । उनले आइतबार नेकपा एसमा नरहेको जानकारी मात्रै मागेनन, सोमबार गण्डकीको विस्तारित मन्त्रिपरिषदमा मन्त्री कै सपथ पनि लिए ।

मनाङ ‘ख’ बाट निर्विरोध निर्वाचित भएका मनाङे ०७४ मंसिर १९ मा नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । मनाङे आफ्नो दलको सांसद रहेको भन्दै नेकपा एसले प्रदेशसभा सचिवालयलाई अभिलेख राखिदिन पत्राचार गरेको थियो । सो पत्र अनुसार नै मनाङे आइतबारसम्म नेकपा एसको सांसदको हैसियतमा थिए ।

तर, आइतबार उनले निर्विरोध निर्वाचित भएका कारण आफू स्वतन्त्र नै रहन चाहेको मनसायसहितको निवेदन प्रदेशसभा सचिवालयमा दिएका छन, जसउपर सचिवालयले हालसम्म केही निर्णय गरेको छैन । मनाङेले दिएको निवेदनलाई कुन कानूनी आधारमा अगाडि बढाउने भन्नेमा सचिवालय अनिर्णीत नै छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार सम्बन्धित दल नेकपा एसको आधिकारिक पत्र आएपछि निवेदनमाथिको प्रक्रिया अगाडि बढ्छ ।
दल त्याग गरेकै विषयमा बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले मनाङेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । सचिवालयको यो बैठकको निर्णयानुसार मनाङेमाथि राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३२ आकर्षित हुन आउँछ ।

यो दफाको उपदफा ३ मा भनिएको छ, “… निष्काशन गर्नु अघि सम्बन्धित दलको केन्द्रिय समितिले त्यस्तो सदस्यलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ र त्यस्तो प्रयोजनको लागि सम्बन्धित दलले जाँचबुझ समिति गठन गर्न सक्नेछ ।”

नेकपा एसका सचिव जीवनराम श्रेष्ठले यथाशीघ्र जानकारी दिनेगरि मनाङेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको बताए ।
राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा २९ ले स्वतन्त्र निर्वाचित व्यक्तिले दलको सदस्यता लिएमा स्वतः संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ ।
“कुनै दलको उम्मेदवार नभई स्वतन्त्र रुपमा संघीय संसद वा प्रदेशसभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा स्वतः त्यस्तो दलको सदस्य हुनेछ ।” यो दफामा भनिएको छ ।
नेकपा एकीकृत समाजवादीले यही दफाको आधारमा मनाङे आफ्नो सांसद रहेको दाबी गरेको छ । आफ्नो दलको सदस्य भइसकेको अवस्थामा मनाङेले पार्टी छाडेको हुँदा पहिलोपटकको हकमा स्पष्टिकरण सोधिएको नेकपा एसको जवााफ छ ।

नेकपा एसका गण्डकी अध्यक्ष श्रीनाथ बरालले सचिवालयको सबै बैठक आइनसकेको तर, आफूहरुले स्पष्टिकरण सोधिने बताए ।
“पार्टी किन त्याग गर्नुभयो भन्ने मुल कुरा हो । त्यसका लागि हामीले छिटै स्पष्टिकरण सोध्नेछौँ । स्पष्टिकरण अवधिमा उहाँले फिर्ता लिनुभयो भने एकखालको प्रक्रिया अगाडि बढ्छ, फिर्ता लिनुभएन भने त्यही अनुसार हुन्छ ।” बरालले भने ।

यदि मनाङेले पार्टीलाई दिएको स्पष्टिकरण चित्तबुझ्दो नलागेमा नेकपा एसले प्रदेशसभा सचिवालयलाई सोही अनुसारको व्योहोराको पत्र पठाउने छ । जसका आधारमा कारवाही प्रक्रिया अगाडि बढाउँदा उनको सांसद पद नै जाने व्यवस्था ऐनमा छ ।

राजनीतिक दलसम्बन्धि ऐनको दफा ३० मा दल त्याग गर्न सक्ने व्यवस्था छ । यो दफा अनुसार दल त्याग सम्बन्धि व्यवस्था सम्बन्धित दलको विधान अनुसार हुनेछ ।
सोही ऐनको दफा ३४ ले दल त्याग गरेको सूचना दिनुपर्ने व्यवस्था गरेको छ । मनाङेले दिएको कोरा निवेदनलाई ऐनको कुन दफाको आधारमा जवाफ दिने भन्ने बारेमा प्रदेशसभा सचिवालय आफै अन्योलमा छ । यदि यो ऐनको दफा ३४ बमोजिम मनाङेले दल त्याग गरेको निवेदन अनुसारको प्रक्रिया अगाडि बढायो भने दफा ३६ अनुसारको उनको पद नै जान सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->