पोखरा/ नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । ११ औं अधिवेशनको उद्घाटन शनिबार भएतापनि जिल्लामा दुई गुट देखिएकाले अधिवेशन लम्बिएको छ । शनिबार उद्घाटनसँगै बन्दसत्र सुरु हुनेपर्ने थियो तर, शनिबार बन्दसत्र हुन सकेन । आइतबारबाट बन्दसत्र सुरु भयो । ढिला गरि भएको बन्दसत्रमा राजनैतिक÷ सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरियो । प्रतिवेदनमाथि छलफल भने सोमबार मात्रै भयो । छलफल पश्चात सोमबार अबेर गरी मनोनयन पत्र वितरण गरियो । अधिवेशन चलिरहँदा नेताको नाममा चोचोमोचो गर्नेले पार्टी बिगारेको कार्यकर्ताको गुनासो छ ।
कास्कीमा दुई नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्ष बिच प्रतिस्पर्धा हुने देखिएको छ । यी दुई पक्षलाई मिलाउने र सर्वसम्म गर्ने प्रयास गर्दै गर्दा अधिवेशन लम्बिएपछि कार्यकर्ताहरुमा भने निराशा छाउँदै गइरहेको छ । गण्डकीका दुई नेताको नाम जोडिएर प्यानलको चर्चा भएसँगै कार्यकर्ताहरु भने बाँडिएका छन् । एक नेताका अनुसार सर्वसम्मतको प्रयासका कारण ढिला भइहरेको छ । निर्वाचनको दाबी विरोधको समयसम्म पनि सर्वसम्मतकै प्रयास जारी रहने छ । तर, उम्मेदवार बनेकाहरु भने सहमतिमा आउन तयार छैनन् ।
पार्टी सदस्य खगराज आचार्यले अधिवेशन जुन हिसाबले जानुपर्ने त्यो हिसाबले जान नसकेकोमा असन्तुष्टि व्यक्त गरे । केही नेताहरुको इगोको कारण समग्र अधिवेशनलाई प्रभाव परिरहेको उनी सुनाउँछन् । ‘अहिले दुई÷तीन जना नेताहरुको इगोले गर्दाखेरी त्यो भन्दा तलका कार्यकर्ता र नेताबिचमा द्धन्द्ध सिर्जना भएको छ । दुई नेताको बिचमा जुन भनिरहेको छ पिएस र केआरको लडाइ हो भनेर भनिएको छ’ उनले भने, ‘उहाँ दुई नेताको त्यस्तो लडाईँ गर्नका लागि उद्धत हुनुहुन्न होला तर, उहाँहरुसँग सम्बन्धित आ–आफ्नो दुनो सोझ्याउने चोचोमोचो गर्नेहरुले विगारेको देखिएको छ ।’ दुई नेता नबिग्रिकन पार्टीको हितका लागि अघि बढ्नुपर्ने उनी सुझाउँछन् ।
‘पार्टीको सिद्धान्त एउटै, पार्टीको नेता एउटै विवाद छैन । हिजो एमालेभित्र सैद्धान्तिक विवाद नहुँदा नहुँदै पनि पार्टी फुट्यो । त्यसको अनुभव अहिलेको कार्यकर्तालाई हुनुपर्ने हो । अहिलेको अध्यक्षको भनाई सुन्दा (केपी ओली) अझै सय वर्ष उहाँको भनाई इनफ हो भन्ने लाग्छ त्यस्तो निर्विकल्प नेताको कार्यकर्ता भएर दुई÷तीन जना नेताहरुको इगो सिर्जना हुनु सरासर गल्ती हो ।’ उनले भने ।
अधिवेशन चाँडोभन्दा चाडो सकिनुपर्ने उनको भनाई छ । निवेदन समेत लेख्न नजान्ने नेतृत्व आउन नहुने र नेतृत्वले यहाँको भूगोल, पर्यटन, वातावरण, कानून तथा विभिन्न विधा जानेको व्यक्ति आए आउने पुस्ताका लागि राम्रो हुनेछ ।
यस्तै सदस्य तथा कास्की क्षेत्र नं. ३ ख एमाले अध्यक्ष सुरेन्द्र गुरुङले नेतृत्व सर्वसम्मतको प्रयास चलिरहेको सुनाउँछन् । उनले अधिवेशनको समय लम्बिदै गएको र यसलाई छिटो भन्दा छिटो निर्वाचनमा लैजानुपर्ने बताए । सोमबार विषयगत प्रतिवेदन माथि छलफल क्लस्टरवाइज राय सुझाव दिने काम सकिएसँगै राजनिति र संगठनात्मक प्रतिवेदन स्थगित गरि निर्वाचन प्रक्रिया अघि बढाएको उनले बताए । छोटो समयमा सक्ने भनेपनि छलफल बहस र अन्य कार्यक्रमका कारण लम्बिएको छ र अझै एक दुई दिन लम्बिने देखिएको छ ।
‘आज साँझसम्म उम्मेदवारी फर्म वितरण गर्न सकियो भने भोलि विहानबाट उम्मेदवारी दर्ता गराउन सकिन्थ्यो । दिनभरिमा मतपत्रका कुरादेखि दाबी विरोधसम्मका सबै काम गर्न सकिन्थ्यो’ उनले भने, ‘त्यति गर्न सकियो भने पर्सि (बुधबार) विहान मतदान गर्न सकिन्छ ।’
बन्दसत्रमा अध्यक्ष मनबहादुर गुरुङले प्रस्तुत गरेको प्रतिवेदनमा समेत पार्टीभित्र संगठनात्मक अराजकता र अवसरवादले नेता, कार्यकर्ता र जनता बिचको सम्बन्धमा विश्वसनीयता घट्को बताएका छन् । त्यतिमात्र होइन उनले पार्टी कमिटीमा अबद्ध नेता तथा कार्यकर्तामा कम्युनिष्टहरुको वर्गीय पक्षधरतामा कमि एवं भद्धा जीवन शैलीको विकास हुँदै गएको समेत बताएका छन् ।
सचिव बैन बहादुर अधिकारी क्षेत्रीले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको समस्या दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता देखिरहेको बताएका थिए । सँगै आचरण र व्यवहारमा पारदर्शीताको समस्या पार्टी, सिद्धान्त, विचार व्यवहार बिचको अन्तर विरोध र जनप्रतिनिधि र पार्टी बिचको अन्तरसम्बन्ध व्यवस्थित हुन नसकेको बताइएको छ ।
१ः३० बजे मतदान
अन्ततः मंगलबार दिनको १ः३० बजेलाई मतदानको समय तोकिएको छ । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत भगवती पहारीले सोमबार साँझ निर्वाचन कार्यक्रमको सूचना जारी गरेकी हुन ।
सूचना अनुसार सोमबार मतदाता नामावली प्रकाशदेखि लिएर त्यसउपर दाबीविरोध, दाबी विरोधमाथिको छानविन र निर्णय तथा अन्तिम नामावली प्रकाशन सोमबार नै भएको छ । सोमबार नै इच्छुक उमेदवारहरुलाई दरखास्त फारम पनि वितरण गरिएको छ ।
मंगलबार बिहान दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक, उम्मेदवारको विरोधमा उजुरी, छानविन र निर्णय हुनेछन । त्यसपछि उम्मेवारको नामावाली पुन प्रकाशन गरिनेछ भने नाम फिर्ता लिने समय त्यसपछि राखिएको छ ।
बिहान १०ः४५ बजे अन्तिम नामावली प्रकाशन गरिसकेपछि दिनको १ः३० देखि मतदान सुरु हुनेछ । मतदान सकिएपछि मंगलबार नै मतगणना गरिने र निर्वाचन परिणाम घोषणा गर्ने कार्यतालिका रहेको छ ।





