बागलुङ/अन्डर १९ क्रिकेट टिमको खेल समय जुध्दा बागलुङका एक खेलाडी एसईई परीक्षाबाट बञ्चित भएका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–१ पाला घर भई सदरमुकामस्थित अमर आदर्श आबासीय माबिमा अध्ययनरत सुवास भण्डारी एसईईको परीक्षामा सहभागि बन्न नसकेका हुन् । फर्म भरेर अन्तिम तयारीमा रहेका भण्डारी खेलका लािग बुटवल जानुपर्ने भएपछि परीक्षा छाडेको बिद्यालयका संस्थापक बिजयराज पन्तले बताए ।
भण्डारी नेपाली क्रिकेट टिमको अन्तर १९ टिममा छन् । बुटवलमा आयोजित खड्गप्रसाद गौचन अन्डर १९ खेलमा उनले भाग लिएका छन् । उनी नेपाली टिमको स्पिनबलरमा समेत सूचिकृत छन् ।
बिद्यामन्दिर परीक्षा केन्द्र तोकिएकोमा भण्डारी अनुपस्थित भएका थिए । उनी नआएपछि बिद्यामन्दिर परीक्षा केन्द्रका केन्द्राध्यक्ष छविरमण रेग्मीलाई उनी पढ्ने बिद्यालयमा सम्पर्क गरेका थिए । पन्तले ती बिद्यार्थी खेलाडी भएको र तत्कालै जानुपर्ने भन्दै तीन दिन अघि हिंडेको बताए । ‘हामीले सम्पर्क गर्न खोजेका छौं, सम्पर्कमा आएका छैनन्’ पन्तले भने, ‘प्रवेशपत्र पनि लगेका छैनन् ।’ राम्रो खेलाडी भएकोले तीनचार बर्ष अघिदेखिनै उनी खेलमा निरन्तर सहभागि हुने गरेका थिए ।
बिद्यालयले परीक्षा अवधिभर संभव हुने सम्मको दिन उपस्थित हुने व्यवस्थापनका लागि अभिभावकसंग कुरा गरेको पन्तले बताए । परीक्षा अनुगमनमा पुगेका बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ती बिद्यार्थीलाई परीक्षा दिने व्यवस्था भएमा त्यसपछि खेलमा लाग्न सबैको साथ र सहयोग मिल्ने बताए ।
‘खेल यहीं बेला परेको भए परीक्षा केन्द्र सार्न पनि पहल गरिन्थ्यो’ श्रेष्ठले भने, ‘खेलबाट उनको भविष्य उज्वल हुन सक्छ भने सबैको साथ आवस्यक छ ।’ तर पढाइको प्रमाणपत्र पनि सँगै चाहिने भएकोले परीक्षाको व्यवस्थापनमा पहल गर्न उनले प्रशासन र शिक्षा शाखामा जानकारी गराएको बताए ।
बागलुङमा यो बर्ष ४ हजार ३ सय ९९ जनाले परीक्षा दिएको शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए । ३१ वटा परीक्षा केन्द्रमा साधारणतर्फ ४ हजार ५५ जना, प्राविधिकतर्फ २ सय २९ जना, ग्रेड वृद्दिका लागि १ सय २५ जना सहभागि हुनेछन् । तीन जना दृष्टीबिहिनले बलेवास्थित जनताधन माबिबाट परीक्षा दिएका छन् भने धौलागिरि बहिरा आबासीय माबिबाट २२ जना बहिराले परीक्षा दिएको प्रधानाध्यापक रेशम श्रीषले बताए ।





