म्याग्दी/जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरू हुनुअगावै पाठ्यपुस्तक पुग्न थालेको छ । विगतमा जिल्लाका दुर्गम विद्यालयमा समयमै पुस्तक नपुग्दा परीक्षामा विद्यार्थीलाई समस्या हुने गरेको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्धेश्यले सम्पूर्ण पुस्तक एकैपटक म्याग्दीमा ल्याएपछि विद्यालयले भर्ना अभियानमै पुस्तक वितरण गर्ने योजना बनाएका छन् ।
म्याग्दीका साढे दुई सय विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण पौडेलले बताए ।
‘गतवर्षभन्दा १५ दिनअघि नै पुस्तक आइपुगेको छ, दुर्गमका विद्यालयलाई प्राथमिकता दिएका छाँ,ै’ अध्यक्ष पौडेलले भने । उनका अनुसार जिल्लाका ४५ विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । म्याग्दीका पुस्तक व्यवसायीहरुले सामूहिक रुपमा लगानी गरेर डिपोबाटै पुस्तक बिक्रीवितरण भइरहेको छ । सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको सहज र व्यवस्थित रुपमा वितरण गर्न २८ जना व्यवसायीले एक करोड रुपैयाँ लगानी गरेर जनक शिक्षा सामग्रीको क्षेत्रीय कार्यालय पोखराबाट पुस्तकहरु खरिद गरी जिल्ला ल्याएका थिए ।
पुस्तक बिक्रीवितरण र ढुवानीलाई एकद्वार प्रणालीमार्फत वितरण गर्न थालिएको छ । विद्यालयमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुँदा विद्यार्थीको हातमा पुस्तक पुग्ने वातावरण बनेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको क्रान्ति आधारभुत विद्यालयकी प्रधानध्यापक मिनाकुमारी गर्बुजाले बताइन् । ‘भर्ना अघि नै अभिभावकलाई पुस्तक आएको जानकारी दिन सहज भएको छ, समयमै पुस्तक आउँदा शैक्षिक गतिविधिलाई समेत सहज हुन्छ, यसपटक समयमै पढाइ सुरु हुन्छ’ प्रअ गर्बुजाले भनिन् ।
म्याग्दीका सामुदायिक विद्यालयमा बार्षिक परीक्षा सञ्चालन भइरहेकाले परीक्षा सकिएपछि भर्ना अभियानमा सहज हुने बताइएको छ । जिल्लामा भित्रिएका पाठ्यपुस्तकलाई व्यवस्थित र सहज रुपमा वितरणको व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले व्यवसायीहरुलाई अनुरोध गरेका छन् । अति दुर्गम क्षेत्रका विद्यालयमा ढुवानीसहितको प्रक्रियामा सघाउन अनुरोध गरिएको छ ।





