बागलुङ/धौलागिरि अस्पताल बागलुङमा आगामी चैत २३ र २४ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौंको आयोजना तथा बागलुङ नगरपालिका र धौलागिरि अस्पतालको सहकार्य एवम् प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा हाडजोर्नी, स्त्री तथा प्रसुती रोग, मुटु रोग, मधुमेह, क्यान्सर, मुत्र तथा पिसाब सम्वन्धी रोगको स्वास्थ्य उपचार हुने केन्द्रले जनाएको छ । शिविरमा भिडियो एक्सरे, मुटुको इको, इसीजी लगाएतको सेवा पनि उपलव्ध गराइने बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
शिविरमा गण्डकी मेडिकल कलेज पोखरा र धौलागिरि अस्पताल बागलुङका विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने छन् । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौंका अध्यक्ष रसुमिला श्रेष्ठले केन्द्रले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा बिगतदेखि काम गर्दै आएको र आफ्नो क्षेत्रमा केहि गरौ भन्ने भावनाका साथ निशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।





