बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

क्षयरोग मुक्त अभियानमा गलकोटको सक्रियता

क्षयरोग मुक्त अभियानमा गलकोटको सक्रियता

वडा र पालिकास्तरीय क्षयरोग मुक्त समितिले सघन रुपमा क्षयरोगीको खोजी गर्ने, उपचारको दायरामा ल्याउने र पालिकालाई मुक्त बनाउने काम गर्ने छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८०, बिहिबार

बागलुङ/पछिल्लो समय बढ्दो संख्यामा रहेका क्षयरोग न्युनिकरणमा पालिकाहरुले काम थालेका छन् । गलकोट नगरपालिकाले त क्षयरोग मुक्त अभियानका लागि पालिका र वडास्तरीय दर्जनबढी गतिविधि संचालन गरिसकेको छ ।
जिल्लामा सबैभन्दा संक्रामक रुपमा देखिएको बडिगाड गाउँपालिका र त्यससँगै जोडिएकोले गलकोटले बढी चासो दिएर काम गरेको स्वास्थ्य शाखाकी प्रमुख मीरा शर्माले बताइन् । गलकोटले पालिकास्तरीय अभिमूखीकरण, वडा र पालिका स्तरीय क्षयरोगमुक्त समिति समेत गठन गरेको हो ।
ती समितिले सघन रुपमा क्षयरोगीको खोजी गर्ने, उपचारको दायरामा ल्याउने र पालिकालाई मुक्त बनाउने काम गर्ने छ । गलकोट नगरपालिका सामाजिक बिकास समितिका संयोजक हिमबहादुर भण्डारीले क्षयरोगलाई गम्भीर रुपमा लिएर उपचारको दायरामा ल्याउन सबै सक्रिय भैसकेको बताए ।
‘हामीले शूक्ष्म रुपमा यो रोगको खोजी गरेर उपचारको दायरामा ल्याउन खोजेका छौं,’ भण्डारीले भने, ‘आम नागरिकलाई पनि यो रोगको समस्याबारे जानकारी दिंदैछौं ।’ नगरपालिकाले जनस्वास्थ्य निरीक्षक मनिष राजभण्डारी नियुक्त गरेर क्षयरोगको मात्रै बिशेष अध्ययनको काम समेत थालेको हो ।
गलकोटमा अघिल्लो वर्ष २५ जना, गत वर्ष १५ जना र चालु वर्षको फागुन मसान्तसम्म ११ जना क्षयरोगी भेटिइसकेका छन् । क्षयरोग लागेको व्यक्तिले श्वासप्रश्वासबाट २५ जना सम्मलाई सार्न सक्ने भएपछि यो भयाबह बन्न नदिन पालिकाले चासो बढाएको शर्माले बताइन् ।
चालु बर्षको ८ महिनामा बागलुङमा कुल २२७ क्षयरोगी भेटिएका छन् । तीमध्ये बडिगाडमा मात्रै १ सय ३० जना भेटिएका हुन् । गत बर्ष जिल्लामा २ सय ३५ क्षयरोगी भेटिएका थिए । आर्थिक बर्ष २०७८/७९ मा यो संख्या १ सय ८५ थियो । २०७७/७८ मा १ सय ३५ मात्रै क्षयरोगी थिए । तर पहिलो ८ महिनामै यतिधेरै संख्या पत्ता लागेपछि चालु बर्ष यो ग्राफ अझै बढ्ने स्वास्थ्यकर्मीको चिन्ता छ ।
समूहमा बस्ने, रोगीको परिवार र जेष्ठ नागरिकमा यो संक्रमणको दर उच्च रहने गरेको भेटिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । उपचार र परीक्षणको पहुँच बढ्दै जाँदा क्षयरोगीको ग्राफ बढिरहेको हो । ‘तोकिएका स्थानका शंकास्पद बिरामी मात्रै परीक्षण गरेका हौं, खोजपडताल प्रभावकारी भयो भने यो अंक भयाबह देखिन सक्छ,’ घिमिरेले भने, ‘क्षयरोगकै कारण चालु वर्ष ४ जनाले ज्यान गुमाइसकेका छन् ।’
औषधी प्रतिरोधक क्षयरोगको परीक्षण गर्न सकिने अत्याधुनिक मेसिन बागलुङमा जडान भएपछि परीक्षणको दायरा बढेको छ । परीक्षण गर्न पाएपछि घरभित्र बसेका महिलामा समेत संक्रमणको दर उच्च देखिएको हो । परीक्षण भएकाहरुले खुलेर जानकारी नदिने र औषधी सेवनमा लापरबाही गर्दा संक्रमण फैलिएको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->