बागलुङ/काठमाण्डौं मेडिकल कलेजका बिशेषज्ञहरुको उपस्थितिमा बागलुङको नारायणस्थान र बडिगाडमा वृहत निशुल्क बिशेषज्ञ उपचार सेवा संचालन हुने भएको छ ।
मेडिकल कलेजका संचालक डा. सुनिल शर्माले बिहिबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य परीक्षण मात्र नभई अपरेशन सहितको सेवा संचालन गर्ने बताए ।
बागलुङहुँदै रुकुम हिंडेका शर्माले चैत मसान्तभित्र गण्डकी प्रदेशका ५ जिल्लामा शिविर संचालन गर्न लागेको जानकारी दिए । ‘हाम्रो टिमले कलेजो प्रत्यारोपण गर्दैन र क्यान्सरको रेडियन गर्दैन, त्यसबाहेक सबै काम गर्छौ’ शर्माले भने, ‘शिविरमा संभव नभएका बिरामीलाई अपरेशन समेत निशुल्क हुनेछ ।’
शिविरका लागि २५ जनाभन्दा बढी बिशेषज्ञ तथा चिकित्सक टोली आउने छन् । चैत २४ र २५ गते बागलुङको बडिगाड र नारायणस्थानमा शिविर हुने छ । शिविरमा आउने बिरामीका लागि खाने तथा आउजाउको व्यवस्थापन नेपाली कांग्रेसका कार्यकर्ताले गर्नेछन् भने मेडिकल उपचारको काम अस्पतालले निशुल्क गर्ने भएको हो ।
प्रतिनिधिसभाका सदस्य समेत रहेका कांग्रेस नेता डा. शर्माले शिविर हुने सबै स्थानमा कांग्रेसका नेता कार्यकर्तालाई स्वयंसेवकको रुपमा खटिन आग्रह पनि गरे । उनले गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी र बानपा १४ को संयोजनमा नारायणस्थानमा र बडिगाड गाउँपालिकाको संयोजनमा पालिका तहमा शिविर गर्न लागेका हुन् ।
अन्यत्र पनि सोही अनुसार पालिका तहको संयोजनमा शिविर संचालन गर्ने योजना उनले सुनाए । मेडिकल कलेजले यो अभियानमा गण्डकीका ५ वटा, लुम्बिनीको पूर्वि रुकुममा गरी ७ स्थानमा शिविर गर्न लागेको हो ।
‘बेलाबेला मुटुको समस्या, मृगौला फेल भएको जस्ता समस्या लिएर आउनेहरु यो शिविरको पहुँचमा ल्याउनुपर्छ’ सुवेदीले भने, ‘स्वास्थ्य बीमा गरेको भएपनि उनीहरुको उपचारमा निशुल्क गरेर बाँकी रकम पछि प्रयोग हुने औषधीमा खर्चन दिने व्यवस्था छ ।’ ग्रामीण क्षेत्रमा आउने अन्य शिविरभन्दा यो फरक भएको पनि उनले बताए ।
शिविरमा जनरल मेडिसिन, हाडजोर्नी, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती, नाक कान घाँटी रोग, सबैखाले शल्यक्रिया सेवा, मानसिक तथा नशा रोग, आँखा तथा दन्तरोग, मुटु र बालरोगको उपचार शिविरमा हुने बताइएको छ ।





