बागलुङ/बार्षिक परीक्षा सकिएपछि सामुदायीक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन् ।
बैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षीक सत्रका लागि संस्थागत विद्यालयहरु सामाजिक सञ्जालदेखि सञ्चारमाध्याममा बिज्ञापन गरेर जोडतोडका साथ बिद्यार्थी भित्राउने ध्याउन्नमा छन् । नयाँ नयाँ शैक्षिक कार्यक्रम ल्याउन संस्थागत विद्यालयहरु परामर्श र छलफलमा व्यस्त छन् । कतिपय सामुदायीक विद्यालयले भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम गरेपनि अधिकांश भने सुनसान छन् ।
सामुदायीक विद्यालयमा हुने शैक्षिक क्रियाकलापका बिषयमा अभिभावकको घट्दो विश्वासलाई बढाउन केही विद्यालयले अभिभावकसँगै मिलेर शैक्षिक कार्यक्रम तयार पार्छन् । तिनै एकाद विद्यालय मध्येको एक विद्यालय हो रेश नुन्थला मावि । जसले हरेक बर्षको शैक्षिक सत्र सुरु हुनुपूर्व शिक्षक, बिद्यार्थी, अभिभावक र समाजसेवीसँग छलफल गरेर शैक्षिक कार्यक्रम तयार गर्छ ।
काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला मावि आगामी शैक्षिक सत्रका लागि शैक्षिक कार्यक्रम बनाउन व्यस्त छ । बार्षिक परीक्षा सकिएपछि अर्को शैक्षिक सत्र सुरु नहुने बेलासम्म विद्यालयले बिभिन्न छलफल र अन्तरक्रिया गर्दै आएको छ । शिक्षक कर्मचारीसँग छलफल सकेर उत्तरपुस्तिका जाँचको जिम्मेबारी दिएको विद्यालयले व्यवस्थापन समिति र शिक्षक अभिभावक संघसँग छलफल सकेको छ ।
‘विद्यालयसँग जोडिएका सबै पक्ष नयाँ शैक्षिक सत्रमा कसरी अघि बढ्ने भनेर योजना बनाउने अधिकार राख्ने पक्ष हुन्’ विद्यालयका प्रअ ओम बहादुर थापाले भने ‘एक्लै हिँडेर कहिँ पुगिँदैन्, सबैको साथ हुँदा गन्तव्य सजिलो हुन्छ ।’ निर्धारित पाठ्यक्रम पुरा गर्नु मात्रै विद्यालयको कर्तव्य नभएको बुझाई छ थापाको । त्यसैले त विद्यालयले शैक्षीक कार्यक्रम व्यवहारिक सीपसँग जोडिने गरी बनाउने गरेको छ ।
शैक्षिक कार्यक्रम तयार गर्नुपूर्वको छलफलमा सहभागि अभिभावकले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन आग्रह गरेका छन् । पाठ्यक्रमको पढाईले मात्रै जीवनयापन गर्ने सीप विद्यार्थीले नसिक्ने भएकाले व्यवहार सिकाईलाई जोड्न उनीहरुले आग्रह गरे । बिद्यालयले अभिभावकसँग गरेको छलफलमा समाजसेवी हिरा बहादुर कुँवरले दैनिक जीवनका क्रियाकलापबारे सिक्नेगरी विद्यालयका गतिबिधि सञ्चालन हुनुपर्नेमा जोड दिए ।
भौतिक पूर्वाधारदेखि शैक्षिक कार्यक्रम तयार गर्दा विद्यालयले सबैलाई सहभागि गराउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद थापाले बताए । सबैसँग छलफल गरेर तयार गरेका कार्यक्रम कार्यान्वयन गर्न सजिलो हुने गरेको उनले अनुभव सुनाए ।
विद्यालयको यो प्रयासले शैक्षिक गतिबिधि र बिद्यार्थीको सिकाईमा सहयोग गर्ने शिक्षकहरु बताउँछन् । विद्यालयले अभिभावक र शुभचिन्तकहरुकै सहयोगमा प्रबिधिमैत्री पठनपाठन समेत सुरु गरेको छ । घरदैलो गर्ने, टोल टोलमा पुग्ने, अभिभावक र बिद्यार्थी भेट्ने तथा सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्ने अभियान बिद्यालयले सुरु गरेको छ ।





