बागलुङ/जिल्लाको स्वास्थ्य कार्यक्रमको अर्धबार्षिक समिक्षा शुरु भएको छ । स्वास्थ्य कार्यालय बागलुङ मातहत रहेका जिल्लाका दश स्थानीय तहका स्वास्थ्य शाखा र अस्पतालहरुले फागुन मसान्तसम्म गरेका प्रगतिको समिक्षा गरिने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए । समिक्षामा अहिलेसम्म भएका र आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल हुने छ ।
आचार्यले फागुन मसान्तसम्म बागलुङमा स्वास्थ्यका कार्यक्रम लक्ष्य अनुरुप नै भएको बताए । उनले जिल्लामा खोप कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिएको बताए । दादुरा रुबेला खोप अभियानले छुटेका बालबालिकाको खोजी गरेको र पछि लगाउनुपर्ने खोपको बारेमा समेत पहिल्यै खबर गरेको हुँदा खोप कार्यक्रम प्रभावकारी बनेको प्रमुख आचार्यको भनाई छ ।
बागलुङमा यस वर्षदेखि हात्तिपाइले रोग विरुद्धको औषधि खान नपर्ने देखिएको प्रमुख आचार्यले बताए । उनले १३ औं पटकसम्म जिल्लामा औषधि खुवाइएको बताउँदै परिक्षण रिपोर्ट सुखद आएकोले यस वर्षदेखि औषधि खुवाउनपर्ने नदेखिएको बताए ।
समिक्षा कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले स्वास्थ्यको क्षेत्रमा स्थानीय तहले सहकार्य गर्नुपर्ने बताए । ‘स्वास्थ्य क्षेत्र राम्रो बनाउन एक पालिकाले अर्को पालिकासँग सहकार्य गर्न आवश्यक छ’ नगरप्रमुख श्रेष्ठले भने, ‘एक पालिकाले गरेको राम्रो कार्यको अर्को पालिकालाई सिकाउँदा सफल हुन सकिन्छ ।’
बागलुङमा स्वास्थ्य बीमा कार्यक्रम संचालन भइरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले त्यसको प्रभावकारिताबारे अनुगमन गर्नुपर्ने र तल्लो स्तरसम्म लागु गरिनुपर्ने बताए । उनले आयुर्वेद औषधी उत्पादनमा जोड दिए । ‘वनजंगलमा आयुर्वेदका प्रशस्त औषधि पाइन्छ’ श्रेष्ठले भने, ‘आयुर्वेदका कच्चा पदार्थलाई प्रशोधन गर्न सकेमा सबैलाई फाइदा हुनेछ ।’
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काले स्वास्थ्यको गतिविधि र रिपोटिङ्गमा बागलुङ प्रदेशमै पहिलो रहेको बताए । उनले स्वास्थ्य कार्यालयहरुले आगामी दिनमा बैठक, गोष्ठी कम गरेर देखिने स्वास्थ्य कार्यक्रम गर्नुपर्ने बताए । खड्काले स्वास्थ्य कार्यालयहरुले नागरिकको जीवनशैली र खानेपानीको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा धौलागिरी अस्पताल बागलुङमा मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधान र जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिनसम्म संचालन हुने समिक्षामा स्वास्थ्य शाखा र अस्पतालहरुले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाईएको छ ।





