पोखरा/ एसीसी मेन्स प्रिमियर कपमा लगातार तेस्रो जित निकालेको नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । समूह ए मा नेपाल हालसम्म एक खेल पनि हारेको छैन् ।
एक सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२।२ ओभरमा २ विकेट गुमाउँदै १ सय १७ रन बनायो । ओपनर कुशल भुर्तेल ३२ रनमा आउट भए । १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । दोस्रा ओपनर आसिफ शेख ४० रनमा आउट भए । १८ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।
कप्तान रोहित पौडेल २५ रन सन्दिप जोरा १९ रनमा नटआउट रहे । रोहितले २० बलमा ३ चौका प्रहार गरे । सन्दिपले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । हङकङका लागि इशान खान र याशिम मुर्ताजले समान एक–एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १७।५ ओभरमा ११४ रनमा अलआउट हुन पुग्यो ।
हङकङका लागि दोस्रो ओपनर अन्श्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर मार्टीन कोटेज ८ रनमै आउट भए । कप्तान निजाकत खान १२, बाबर हायात ६, एजाज खान ७, यासिम मुर्ताज २, जिशान अली १४, नार्सुल्ला राना ६, इशान खान ११ र धनञ्जय राव शुन्यमै आउट भए । आयुष शुक्लाले ६ रन जोडे ।
नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले ०।५ ओभरमा ६ रन खर्चेर २ विकेट लिए भने, करण केसीले १ विकेट लिए ।
हालसम्म नेपाल शीर्षस्थानमा रहेको छ । नेपालको ३ खेलमा ३ जितसहित ६ अंक रहेको छ । नेपालले अब अन्तिम खेल साउदी अरेवीयासँग खेल्ने छ ।





