बागलुङ/काठमाण्डौंमा जारी चौधौं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्समा बागलुङका बादल कार्कीले दुई स्वर्ण पदक जितेका छन् । काठेखोला गाउँपालिका वडा नं. ७ रेशका १७ वर्षिय कार्कीले ४ सय मीटर र ८ सय मीटर दौडमा स्वर्ण जितेका हुन् ।
काठमाण्डौंस्थित दशरथ रंगाशालामा भएको खेलमा बादलले ८ सय मीटर दुरी २ मिनेट ०५ सेकेण्डमा पार गरेर स्वर्ण पदक हात पारेका हुन् । उनले ४ सय मीटरको दौडमा पनि स्वर्ण पदक पाएका थिए । पालिका, जिल्ला र प्रदेश तहका खेलमा स्वर्ण जित्दै राष्ट्रिय खेलमा पनि स्वर्णपदक जितेका कार्कीले जिल्लाको नाम राख्न सफल भएको जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष समीक्षा थापाले बताइन् ।
पछिल्लो तीन बर्षदेखि कार्कीले खेलमा स्वर्ण पदकको थुप्रो बनाइसकेका छन् । आसन्न दशौं राष्ट्रिय खेलमा दौड जित्ने लक्ष बोकेका उनले काठमाण्डौंमा भएको राष्ट्रिय खेलमा पनि सबैलाई चकित पारिदिएका हुन् । युथ एशिया म्याराथुनमा पुगेर पदक हात पार्ने समेत उनको लक्ष्य छ ।
भारतको नागल्याण्डमा भएको अन्डर २० साउथ एशियन खेलमा तेस्रो स्थान पाएपछि उनी एथलेटिक्समा जमेका हुन् । सन् २०२१ मा नेपालगञ्जमा भएको ५ किमी लामो रोड रेश प्रतियोगितादेखि जिल्ला, प्रदेश र अन्य खुला एथलेटिक्स तथा म्याराथुनमा उनले भाग लिन छाडेका छैनन् । बरु उनले सबै खेलमा पदक जितेर आएका छन् ।
यो वर्ष उनको स्वर्ण पदकमय बनेको छ । गतबर्ष पनि उनले जिल्लास्तरीय खेलमा स्वर्ण जितेका थिए । १ हजार ५ सय मीटर र ३ हजार मीटरको दौडमा उनले कब्जा नै जमाएका थिए । उनको लक्ष भने दशौं राष्ट्रिय खेल र आगामी सन् २०२५ मा हुने युथ एशियन म्याराथुन हो । त्यसका लागि उनले अहिले देखिनै अभ्यासमा रहेको बताए । उनले त्यतिबेला उक्त म्याराथुन जित्ने लक्ष्य बनाएका छन् । त्यस बाहेक क्रसकन्ट्री दौडको अभ्यासमा समेत उनी सक्रिय छन् ।





