
पोखरा / एसीसी प्रिमियर कपमा युएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । १२० रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
ओपनर अलिशान सराफुले ५५ रनको अविजित पारी खेले । उनले ४१ बलमा ४ चौका २ छक्का प्रहार गरे । कप्तान मुहम्मद वासिम ११ रनमा आउट भए । भिष्नु सुकुमारन २८, आसिफ खान १० र सायद हाइदर १४ रनमा आउट भए । आयान अफजल खान ३ रनमा नटआउट रहे । नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले युएईलाई सहज लक्ष्य दिएको हो । अल इमिरेट क्रिकेट मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा नेपालका ओपनर कुशल भुर्तेल शुन्यमै पेभिलियन फर्किए । आशिफ शेख ८ रनमै आउट भए । कप्तान रोहित पौडेल ५ रनमै आउन भए । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र दुई छक्का प्रहार गरे । कुशल मल्ल ३ रनमा, दीपेन्द्र सिंह ऐरी ५, गुल्सन झा २०, सोमपाल कामी २, करण केसी १७ बलमा आउट भए । अभिनाष बोहोरा १ र ललितराज वंशी २ रनमा नटआउट रहे ।
युएईका लागि जुनियाद सिद्धिक, अलि नासिर र वसिल हमिलले समान २÷२ तथा ओमिद सफी रहमान, आयान अफजल खान र मुहम्मद फारोकले १/१ विकेट लिए ।





