बागलुङ/प्रशासनले औषधी पसल संचालन गर्ने निहुँमा मानव स्वास्थ्यमा खेलवाड गर्नेलाई कारवाही गर्ने प्रक्रिया थालेको जनाएको छ । बिनादर्ता औषधी पसल संचालन गर्नेदेखि प्रतिबन्धित औषधी बेच्ने समेत भेटिएकोले उनीहरु कारवाहीको दायरामा आउने भएका हुन् ।
प्रशासनले केही समयदेखि निरन्तर गरेको छड्के अनुगमनमा त्यस्ता गतिविधि भैरहेको भेटिएको हो । शुक्रबार भएका अनुगमनमा सदरमुकाममै प्रतिबन्धित औषधी बेच्ने समेत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए ।
जिपपार्कस्थित ‘धौलाश्री मेडिकल’ संचालन गरिरहेका दिलीप यादवले मानव स्वास्थ्यमा खेलवाड हुने गरी औषधी बिक्री गरेको भेटिएको हो । उनले अनुमतिबिनै औषधी पसल संचालन गरेको, औषधी व्यवस्था विभागले स्विकृति नदिएको औषधी बेचेको र लागूऔषधको रुपमा प्रयोग हुने औषधीको लागत समेत नराखी बेचेको भेटिएको हो ।
प्रशासनले अनुगमन गर्न खोज्दा उनले सटर लगाएर भाग्ने प्रयास गरेका थिए । भाग्नै लागेको बेला अनुगमन टोलीले समातेर फिर्ता ल्याएको थियो । यादवले भाग्ने क्रममा कोठाभित्रै सेवाग्राहीलाई समेत थुनेर भागेका थिए ।
स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माका अनुसार यादवले औषधी व्यवस्था विभागमा दर्ता नभएका र बेच्नै नपाइने औषधी समेत बेचेको भेटिएको बताइन् । लागूऔषधमा गनिएका औषधी पनि बिनादर्ता र रजिष्टर नबनाई बेचेका थिए ।
बागलुङ नगरापलिका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीप्रसाद आचार्यले यादवले लामो समयदेखि मानव स्वास्थ्यमा असर पर्ने गरी गैरकानुनी काम गरिरहेको बताए । उनले सामान्य औषधी भए पुग्नेलाई पनि महंगो र धेरै डोज औषधी दिएको समेत भेटिएको बताए ।
कतिपय औषधी अस्पतालको फार्मेसीमा मात्रै राख्न पाउने कानूनी व्यवस्था छ । तर यादवले ती औषधि पनि जथाभावी बेचेको भेटिएको हो । त्यसपछि प्रशासनले उनको सटर बन्द गराएको छ । आइतबार सम्ममा आवस्यक कागजात लिएर प्रशासनमा हाजिर हुन चेतावनी दिइएको छ । अन्याथा कानून बमोजिम उनीबिरुद्ध मुद्दा चल्ने बरालले बताए ।
धौलागिरी अस्पताल अगाडि रहेको बुद्द डेन्टलले पनि गैरकानूनी रुपमा डेन्टल संचालन गरेको भेटिएपछि प्रशासनले बन्द गराएको छ । संचालक नभेटिएको, दर्ता पनि नभएको पाएपछि ताला लगाउनु परेको प्रशासनका नासु रामप्रसाद उपाध्यायले बताए । बागलुङकै कतिपय औषधी पसलले कानूनी प्रक्रिया नपु¥याई क्लिनिक चलाएको, गैरकानूनी औषधी बिक्री गरेको भेटिएको र उजुरी समेत आएपछि प्रशासनले अनुगमन गर्ने गरेको हो । अनुमति नै नलिएका स्थानमा बिशेषज्ञ सेवा भन्ने बोर्ड राखेर बिरामी जाँच गरेको महंगो शुल्क लिएका मेडिकललाई पनि कारवाहीको दायरामा ल्याउने बरालले बताए ।





