बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले स्वास्थ्य संस्थालाई पूर्वाधारमा अब्बल बनाउने अभियानलाई तिब्र बनाएको छ । स्थानीय तह गठन पछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका काम गरिरहेको गाउँपालिकाले अस्पतालदेखि स्वास्थ्य संस्थाका भवन निर्माणलाई तिब्र बनाएको हो ।
गाँउपालिकामा आँखा उपचार केन्द्रसहित १७ वटा स्वास्थ्यका भवन छन् । उपचार केन्द्रसहित एक १५ शैयाको अस्पताल, सात स्वास्थयचौकी, तीन आधारभुत स्वास्थ्य सेवा केन्द्र र पाँच सामुदायिक स्वास्थ्य इकाईबाट सेवाप्रवाह हुने गरेको छ । यी सबै स्वास्थ्य संस्थालाई पूर्वाधारमा अब्बल बनाउने र सेवाप्रवाहमा चुस्तता ल्याईने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताईन् ।
बडिगाडमा अहिले दुई स्वास्थ्यचौकी भवन निमार्णको काम चलिरहेको छनभने दुई स्वास्थ्यचौकीले पुरानै भवनबाट सेवा दिईरहेका छन् । अन्य स्वास्थ्य संस्थाले भने मापदण्डसहित आफ्नै भवनबाट सेवा प्रदान गरेका छन ।
वडा नं. ३ को सिसाखानी स्वास्थयचौकी र वडा नं. ९ को दर्लिङ स्वास्थ्यचौकीको भवन निमार्णाधिन अवस्थामा रहेको जनस्वास्थय निरीक्षक हेम पुन बताए । वडा नं. ७ को भिमगिठे स्वास्थयचौकी र वडा नं. ८ को रणसिंहकिटेनी स्वास्थ्यचौकीले भने पुरानै भवनबाट सेवा दिईरहेछन् ।
संघिय सरकारले भवन निमार्णको लागि गतवर्ष बजेट विनियोजन नगरेका कारण भवन निर्माणमा समस्या भएको भन्दै वडिगाडका उपाध्यक्ष भिमसेन वनले यस वर्ष पनि भवन निर्माणको लागि मन्त्रालय र सम्बन्धित सरोकारका पक्षसंग पालिकाले ताकेता गरिरहेको जानकारी दिए ।
यस्तै बडिगाडमा निमार्णाधिन १५ शैया अस्पतालको ९० प्रतिशत काम सकिएको छ । आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको अस्पताल भवनको अब भित्री भागमा विद्युत, टायलिङ र केहि फिनिसिङको काम बाँकी रहेको पालिकाका इन्जिनियर दिनबन्धु शाहले बताए । अस्पताल निर्माणको काम समय अगाडि नै सक्नेगरी ठेकेदार कम्पनीले काम गरिरहेको वनले बताए । उनले अस्पताल पुर्ण रुपमा संचालनको लागि भने चुनौती रहेको सुनाए ।
यसैबीच, गत सोमबार बडिगाड–२ खर्वाङको आधारभुत स्वास्थ्य सेवा केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । ३ रोपनी १ आनामा सेवा केन्द्रले ६१ लाखको लागतमा आफ्नै भवन बनाएको हो ।
४५ लाख लागतमा भवन र १६ लाखमा कम्पाउन्ड जाली लगायतका पुर्वाधार निर्माण सम्पन्न भएपछि सेवा केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेको वडाध्यक्ष ढाल प्रसाद शेरचनले जानकारी दिए । यसअघि खर्वाङमा रहेको जिल्ला समन्वय समितिको भवनबाट सेवा दिईरहेको केन्द्रको भवन निर्माणका लागि भने स्थानीय धनश्याम खराल र नरिश्वर खरालले निशुल्क जग्गा उपलब्ध गराएका हुन् ।
बडिगाडको खर्वाङ, जलजला, ग्वालीचौर, भिमगिठे र दर्लिङमा ल्यावसहित स्वास्थ्य सेवा तथा पालिकाका दशवटै वडामा बर्थिङ सेन्टर सहितको स्वास्थ्य सेवा संचालनमा रहेको छ ।





