बागलुङ/सदरमुकाम नजिकै भएपनि बागलुङ नगरपालिका ९ को रानीभूमे प्राविमा विद्यार्थी नभएर रित्तिएको छ । गत साता नगरपालिकाले यो विद्यालय स्थगन समेत गरिसकेको छ । यो विद्यालयको कक्षा १ मा पढ्ने कृष्णा जिसीबाहेक कोही थिएन ।
कक्षा ३ सम्म स्विकृत विद्यालयमा गतवर्षदेखि कक्षा २ र ३ मा विद्यार्थी थिएनन् । दाङ घर भएका शिक्षक लोकेन्द्र डाँगी विद्यालयमा प्रअ छन् । विद्यार्थी नभएपछि सुनसान विद्यालयमा पुगेर फर्कने मात्रै काम भएको उनले बताए ।
अन्य शिक्षकहरु स्थानीय हुन् । त्यसैले उनीहरु पुगेर फर्कने र घरको काम गर्नेमा व्यस्त हुन्छन् । गएर पनि विद्यालयमा कुनै काम नभएपछि हाजिर गरेर फर्कनुको विकल्प नभएको उनीहरु बताउँछन् । कामै नभएपछि दरबन्दीमा रहेकी शान्ति पौडेललाई नगरपालिकाले बागलुङ बहिरा बिद्यालयमा काजमा पठाइसकेको छ । विद्यालय स्थगन भएपछि डाँगी पनि पुल दरबन्दीमा परेका छन् ।
सदरमुकाम नजिकैको यो विद्यालयमा विद्यार्थी शुन्य भएपनि ३ जना शिक्षक दरबन्दी कायमै छ । गतबर्ष नियुक्ती पाएका डाँगी राम्रो स्थान पाए जाने मनस्थितिमा छन् । बालविकास सहजकर्ता सरिता जिसी र विद्यालय सहयोगी समेत कार्यरत छन् । डाँगीले समय पाएमा अर्को बर्ष विद्यार्थी बढाउन सक्ने दाबी गरे । ‘समुदायमा १०, १५ जना बिद्यार्थी छन्, तर सबै सिगाना माबिमा गए’ उनले भने, ‘जंगल छेउमा भएकोले बालबालिका आउन मानेका छैनन् ।’
अनुगमनमा विद्यार्थी नभेटेपछि वडा नं. ९ कै सरस्वती सामुदायिक प्रावि पनि नगरपालिकाले पढाई स्थगन गरेको छ । सिमलपाटामा रहेको यो विद्यालयमा पनि ४ जना विद्यार्थी र ३ जना शिक्षक मात्रै थिए । समितिले नगरभर यस्तै हालतका विद्यालयको अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ । स्थगन हुने नगरक्षेत्रका जनशक्तीलाई नजिकको विद्यालयमा मिलान गराइएको हो ।
नगर अनुगमन समितिका सदस्य ज्ञानेन्द्र गौतमले यहाँ बिद्यार्थी आउने संभावना नै नदेखिएको बताए । ‘राज्यको लाखौं श्रोत साधन गइरहेको छ, उपलब्धी छैन’ गौतमले भने, ‘यहाँका शिक्षकहरु आवस्यक भएका ठाउँमा पठाउन नगरपालिकालाई सिफारिस गरेका छौं ।’ अनुगमन समितिको प्रतिवेदनमा नगरभित्रका १२ वटा विद्यालय स्थगन गर्नुपर्ने सुझाव छ । ती मध्ये २ वटा भने तत्काल स्थगन भएका हुन् ।
नगर उपप्रमुख राजु खड्का, शिक्षा अधिकारी धनप्रसाद पोखरेल र सदस्य ज्ञानेन्द्र गौतमले गरेको अनुगमनपछि ती विद्यालयको अवस्था सहितको प्रतिवेदन पेश भएको हो । वडा नं. १२ को कालीगण्डकी प्राविमा नगर अनुगमन समिति पुग्दा एकदुइ जना मात्रै विद्यार्थी भेटिएको शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । पोखरेलका अनुसार एउटै विद्यार्थीको तीन बर्षदेखि सोही विद्यालयमा नाम राखेर हाजिर गरेको भेटिएको थियो । बजारभित्रै रहेको देउराली प्रावि र बालमन्दिर आधारभूत विद्यालयमा पनि बिद्यार्थी संख्या न्युन छ । मुख्य बजारमै रहेको बालमन्दिरमा कक्षा ७ र ८ मा विद्यार्थी नभएपछि समितिले तह मिलान गरेर कक्षा ६ सम्म मात्रै पढाउन सिफारिस गरेको हो । बालमन्दिरमा हाल ७ जना शिक्षकको दरबन्दी छ ।
समितिले २३ विद्यालयको कक्षा घटाउनुपर्ने ठहर गरेर नगरप्रमुखलाई सिफारिस पठाए पनि तह मिलान तयारी छ । केहीको भैसकेको छ । नगरपालिकाले बनाएको ‘सामुदायिक तथा संस्थागत विद्यालय स्थगन, तह तथा दरबन्दी मिलान कार्यविधि २०८०’ अनुसार समितिले अनुगमन प्रतिवेदन नगरप्रमुखलाई बुझाइ सकेको हो ।
बागलुङ नगरभित्रका १ सय ४ वटा विद्यालयमध्ये ३५ वटा विद्यालयमा विद्यार्थीको संख्या न्युन देखिएको हो । ‘बोर्डिङका गाडी गाउँमै आइपुग्छन्, ओसारेर लैजान्छन्’ बानपा ६ का एक शिक्षकले भने ‘सामुदायिकमा गुणस्तर दिन नसके अब सबै खाली हुनेछन् ।’ शिक्षक जागिरे मनस्थितिको भएकोले पनि विद्यार्थी घटेको उनले बताए ।
अभिभावक पनि शिक्षकको कमजोरीले विद्यालय खाली भएको टिप्पणी गर्छन् । ‘शिक्षकले जागिर मात्र खान्छन्, पढाउँदैनन्’ स्थानीय गोपाल प्रसाद शर्माले भने, ‘कक्षा कोठामा नजाने शिक्षकबाटै सामुदायिक विद्यालयको स्तर खस्केको हो ।’ ३८ बर्ष लामो शिक्षण पेशाबाट निवृत्त शर्माले विद्यालय बनाउने प्रमुख जिम्मा शिक्षकको हुने बताए । शिक्षकनै जिम्मेवार नभएपछि अभिभावकले बाध्य भएर बालबालिकालाई नीजिमा पठाउन थालेको शर्माको भनाई छ ।
वडा अध्यक्ष, राजनीतिक दलका नेता र शिक्षक संघसंगठनका पदाधिकारीले भने नगरपालिकाले बिद्यालय स्थगन र तह घटाउने काम गर्न नहुने भन्दै दबाव दिइरहेका छन् । नगरपालिकाले भने आफ्नो निर्णय कार्यान्वयनको तयारी गरिसकेको छ ।





