बागलुङ/शैक्षिक सत्र २०८१ भर्खरै सुरु भएको छ । विद्यार्थी र अभिभावकलाई नयाँ कक्षाको किताब, कापी र पोषाकको तयारी गर्ने माँचो छ । सामुदायिक विद्यालयले विद्यालयबाटै सरकारले उपलव्ध गराउने पाठ्यपुस्तक बाँढिरहेका छन् । संस्थागत विद्यालयहरुमा भने कहाँ किताब किनाउने र पोशाक सिलाउने भन्ने चटारो छ ।
गतवर्ष यहाँको एक संस्थागत विद्यालयमा कक्षा पाँचमा पढेकी दिदीले किनेका किताब यो वर्ष कक्षा पाँचमा पुगेको भाईलाई काम लाग्दैन । एउटै परिवारका दुई जना बालबालिकाले प्रत्येक वर्ष नयाँ किताब किन्नै पर्छ । संस्थागत विद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक र पोशाक परिवर्तन गरिदिँदा अभिभावकहरु हैरान छन् ।
‘एउटा न एउटा बहानामा हरेक वर्ष किताब फेरिन्छन्, अभिभावकलाई आर्थिक मार मात्रै होइन्, मानसिक रुपमा समेत तनाव छ’ बागलुङ नगरपालिका २ का कुलराज शर्माले भने ‘विद्यालयले किन यसो गर्छन्, भन्दैनन् तर हरेक वर्ष फेरिने कस्तो पाठ्यपुस्तक पढाउँछन् अचम्म छ ।’ पाठ्यपुस्तक र पोशाक खरिद बिक्रीमा समेत स्वार्थ राखेर विद्यालयहरुले हरेक वर्ष परिवर्तन गर्ने गरेको अभिभावकहरु गुनासो गर्छन् ।
यहाँका संस्थागत विद्यालयमा पढाई हुने पाठ्यपुस्तक जुन पायो त्यहि पुस्तक पसलमा समेत पाइँदैन् । विद्यालयले तोकेकै पुस्तक पसलबाट मात्रै अभिभावकले पुस्तक किन्न सक्छन् । ‘तोकिएकै पसलमा जानु पर्ने, कपडासमेत जहाँ पायो त्यहाँ नपाइने, यो कस्तो खालको सिण्डीकेट हो ?,’ शर्मा भन्छन् ‘हरेक वर्ष किताब फेरिँदा अघिल्लो वर्ष पढेको दाईले अहिले त्यहि कक्षाको पाठ बहिनीलाई सिकाउन सक्दैन् ।’
फरक फरक प्रकाशनका पुस्तकहरु फेरिरहँदा पुराना पढ्न योग्य लाखौं मुल्यका पुस्तकहरु खेर गैरहेको सरोकारवाला बताउँछन् । संस्थागत विद्यालयले भने पाठ्यक्रम अनुसार फेरबदल हुने पाठ्यपुस्तक मात्रै परिवर्तन गरिने दाबी गर्छन् । ‘हरेक वर्ष बुक फेरिने होईन, सोसल जस्तो विषयका पाठहरुमा परिवर्तन भैरहने भएकाले ती विषय फेरिने हुन्,’ प्याव्सन बागलुङका अध्यक्ष दल थापाले भने ‘बुक र पोशाकमा विद्यालयको कुनै स्वार्थ हुँदैन् ।’
कक्षा पाँचसम्म सरकारले तोकेकै पाठ्यपुस्तक पढाई हुने र त्यो भन्दा माथी अनुमति पाएका प्रकाशनका पाठ्यपुस्तक मात्रै पढाइ हुने गरेको थापाले बताए ।





