बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ मा रहेको न्यू एभरेष्ट एकेडमीले क्याप्टेनको छनोट निर्वाचनमार्फत गराएको छ । विद्यालयमा केही समयदेखि रिक्त रहेको विद्यालय क्याप्टेन र उपक्याप्टेन तथा सदनका क्याप्टेनहरु विद्यार्थीले शुक्रबार मतदान गरेर छनोट गरेको विद्यालयले जनाएको छ ।
शिक्षण सिकाइ क्रियाकलापलाई सहज हुने गरी विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि विद्यालय क्याप्टेन, उपक्याप्टेन तथा हाउस क्याप्टेन छनोट गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।
मतदानमा पर्यवेक्षणसहित मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी लगायतका आवश्यक जनशक्तिको व्यवस्थापन विद्यालयमा अध्ययन अध्यापनरत शिक्षक र विद्यार्थीबाटै मिलाईएको थियो । विद्यालयमा कार्यरत शिक्षक÷शिक्षिकाहरुले निर्वाचन कर्मचारीको भुमिका निर्वाह गरेका थिए भने सुरक्षाकर्मीको रुपमा विद्यार्थी मतपेटिकाको सुरक्षामा खटिएका थिए ।
विद्यालयले मतदान, मताधिकार र नेतृत्व छनौटका विषयमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन नेतृत्व चयनका लागि मतदान गराइएको थियो । हरेक सदनमा परेका उमेद्वारहरुमा दावी बिरोध, छानविन, नामावली प्रकाशनका प्रकृया पुरा गरेर मतदान गराईएको थियो ।
‘नेतृत्व छनोटमा बालबालिकालाई सचेत बनाईरहनु पर्छ, उत्कृष्ट नेतृत्व चयनका लागि सानैबाट बालबालिकाले प्रयास गरुन् भनेर मतदान गराईएको हो’ अधिकारीले भने, ‘निर्वाचन र मतदानबारे विद्यार्थीले व्यवहारिक ज्ञान पाएका छन् ।’
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउँदा विद्यालयले नयाँ नयाँ अभ्यास गराउने गरेको विद्यालयका शिक्षक माधव शर्मा बताउँछन् । निर्वाचन प्रकृयामा विद्यालयले कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागि गराईएको थियो ।
निर्वाचनबाट विद्यालय क्याप्टेन सक्षम बोहोरा चयन भए । उप–क्याप्टेनमा सिद्धार्थ परियार, रातो, निलो, हरियो र पहेँलोको सदनात्मक क्याप्टेनमा सुहाना पन्त, अङ्गेश जिसी, ऋषि सिंह, ओलिप खनाल चयन हुँदा सदनात्मक उपक्याप्टेनमा क्रमशः शुभेक्षा गौतम, खुशी गुरुङ, सचिन जिसी, सविन बोहरा निर्वाचित भएको निर्वाचन अधिकृत भुमिराज शर्माले बताए ।





