म्याग्दी/जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन् । जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जीवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६, छापका किसान जिसीले कक्षा १२ सम्मको पठन–पाठनका लागि आवश्यक वार्षिक १६ हजार ५०२ नगद आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रियका उपाध्यक्षसमेत रहेका जिसीले चरम गरिबीसँग जुधेर पनि पढाइमा अब्बल सृष्टिलाई शिक्षादीक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धतासहित सामाजिक संस्था गंगा जिसी फाउण्डेशनका संस्थापक अध्यक्ष नारायण जिसीमार्फत मंगलबार विद्यालयमा एक कार्यक्रम गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।
गरिबी र नियतिको भूमरीमा परेकी हजुरआमाले आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर नातिनीको शिक्षादीक्षाका लागि बुढेसकालमा पनि ज्यालामजदुरी गरेको जानकारीसँगै उनले आफ्नो जन्मदिन पारेर अभिभावकत्व ग्रहणको प्रतिबद्धता जनाएका थिए ।
सृष्टिकी हजुरआमा जानकीले नातिनीको शिक्षादिक्षामा खर्च गर्ने र मजदुरी गरी घरखर्च चलाउने बताइन् ।आँखामा टिलपिल–टिलपिल आँसु बगाउँदै जानकीले नातिनीलाई छोरीज्वाइँले कलिलै अवस्थामा छोडेर गएपछि हुर्काएको बताइन् । आमाबुबाको साथ र सहयोग नपाएको भन्दै अर्को जुनीमा आमाको कोखमा छोरा भएर जन्मिने चाहना रहेको सृष्टिको भनाइ छ ।‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैन्, मेरो आमाबुबाको जिम्मेबारी हजुरआमा लिनुभएको छ,’ सृष्टिले भनिन् । एकाबिहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने, हजुरआमालाई सघाउने सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी सृष्टि विद्यालयमा मेहनति, लगनशील र इमानदार विद्यार्थीको रूपमा चिनिन्छन् ।





