बागलुङ/नेपाल शिक्षक संघ बागलुङ नगर कार्यसमितिले नवआगन्तुक शिक्षकलाई स्वागत तथा सम्मानसहित नेतृत्व विकास तालिम दिएको छ । शनिबार संघले हालै नियुक्त भएर आएका शिक्षकहरुका लागि स्वागत तथा सम्मान गरेको हो ।
उक्त अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले शिक्षकले शिक्षण पेशालाई प्राथमिकता दिनुपर्ने बताए । पछिल्लो समय सामुदायिक विद्यालयको पढाइ खस्केको र कतिपय विद्यालय मर्ज तथा घटुवा गर्नुपर्ने बाध्यता भएको सुनाउँदै शिक्षकहरुले आफ्नो पेशगत धर्म निर्वाह गर्नुपर्ने बताए । उनले सबै शिक्षकलाई गुणस्तरीय शिक्षाका लागि तयार रहन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा पूर्व शिक्षक तथा जैमिनी नगरपालिकाका पूर्व प्रमुख इन्द्रराज पौडेल, नेपाल शिक्षक संघ गण्डकीका उपाध्यक्ष सागर खरेल, नेपाल शिक्षक युनियनका पूर्वअध्यक्ष गोपाल कुमार शर्मा, नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त पौडेल लगायतले मन्तव्य राख्दै नव आगन्तुक शिक्षकलाई शिक्षकको गरिमा राख्न र समाजमा शिक्षकप्रति हेर्ने दृष्टिकोण सम्मानित बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता नारायणप्रसाद तिमिल्सिना र नेपाल शिक्षक संघ गण्डकीका प्रशिक्षण विभाग प्रमुख श्रीकृष्ण आचार्यले प्रशिक्षण गरेका थिए । उनीहरुले नेतृत्व विकास, नेपाल शिक्षक संघको सांगठनिक भूमिका, योगदान र भावी कार्यक्रमबारे प्रशिक्षण गराइएको नेपाल शिक्षक संघ बागलुङ नगर अध्यक्ष घनश्याम रिजालले बताए । संघका नगर अध्यक्ष घनश्याम रिजालको अध्यक्षता सचिव लोकबहादुर खड्काको संचालन र उपाध्यक्ष अम्बिका गिरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





