सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप भलिबलको आयव्यय : स्तरीय बनाउन खेलाडीमा ठूलो खर्च

टाइगरकप भलिबलको आयव्यय : स्तरीय बनाउन खेलाडीमा ठूलो खर्च


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८१, मंगलबार

पोखरा/टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको चौथो संस्करणको टाइगर कपको आयव्यय सार्वजानिक गरिएको छ । पहिलो संस्करणदेखि नै चर्चा बटुलेको प्रतियोगिताले हरेक संस्करणलाई स्तरीय बनाउँदै अघि बढेको छ ।
प्रतियोगितालाई थप लोकप्रिय बनाउन टाइगरकपमा भारतको हरियाणा पुलिस र श्रीलंकको आर्मीको टिम आएका थिए । यस्तै हेल्प नेपाल र गण्डकी प्रदेशको टिममा समेत विदेशी खेलाडी थिए ।
चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताको खर्चमा समेत वृद्धि भएको छ । टाइगर ग्रुपले सार्वजानिक गरेको आयव्यय अनुसार आम्दानी एक करोड, २१ लाख ८८ हजार आठ सय ६१ रुपैयाँ भएको छ भने, खर्च एक करोड तीन लाख ९१ हजार तीन सय ९७ रुपैयाँ भएको छ ।
प्रतियोगिताबाट १८ लाख ३७ हजार चार सय ६४ रुपैयाँ बचत भएको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितामा सबैभन्दा बढी खर्च सहभागी टिममा देखिएको छ । सहभागी टिमको यातायात, आवास लगायतमा ३१ लाख ४२ हजार नौ सय ५२ रुपैयाँ खर्च गरिएको छ ।
त्यसमध्ये पनि विदेशी टिममा बढी खर्च छ । विदेशी खेलाडी तथा टिमका लागि १६ लाख ४७ हजार सात सय ७५ रुपैयाँ खर्च भएको छ भने, नेपाली टिमका लागि १४ लाख ९५ हजार दुई सय रुपैयाँ खर्च गरिएको छ ।
‘आज टाइगरकप जुन ठाउँमा आइपुगेको छ यो समग्र खेलप्र्रेमीकै कारण भएको छ,’ अध्यक्ष शर्माले भने, ‘प्रतियोगितालाई अझ अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक छ । त्यसकारण हामीले जति सक्दो स्तरीय विदेशी टिम वा खेलाडीलाई यो प्रतियोगितामा सहभागि गराउन चाहन्छौ र प्रयास पनि भइरहेको छ ।’
चौथो संस्करणमा टाइगरकपमा भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुको सहभागिता रहेको थियो । यस्तै प्रतियोगितामा टिकटबाट २२ लाख २२ हजार दुई सय २२ रुपैयाँ आम्दानी भएको छ ।
शर्माका अनुसार पाँचौ संस्करणका लागि चिनको टीम ल्याउने समेत तयारी अहिलेबाटै भइरहेको छ । टाइगरकपलाई अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउनका लागि धेरै भन्दा धेरै विदेशी टिम ल्याउने र प्रतियोगिताको खर्चमा मितव्ययिता अपनाउने पक्षमा संस्था रहेको छ । प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा तथा खेलकुदमै खर्च गरिनेछ ।
अध्यक्ष शर्माले पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको भलिबलको इन्डोर हलको आवश्यकता रहेको बताए । उनले टाइगरकपलाई अझ अन्तर्राष्ट्रिय बनाउनका लागि इन्डोर हलको आवश्यकता रहेको र यसका लागि प्रदेश खेलकुद परिषदले पहल गर्नुपर्नेमा जोड दिए । ०८० माघ १ गतेदेखि ६ गतेसम्म चलेको चौथो संस्करणको टाइगरकपमा महिलातर्फ ६ र पुरुषतर्फ ६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->