बागलुङ/जिल्लाका सबै स्वास्थ्य संस्थाहरु डिजिटल प्रविधिमा जोडिएका छन् । उनीहरुले हरेक दिन, हरेक महिना र वार्षिक प्रतिवेदन डिजिटल विधिमै तयार पार्न थालेका छन् । एकवर्ष अघिदेखि यो विधिको शुरुवात भएको हो । केही पालिकाले भर्खरै थालेका छन् । अहिले समग्रतामा सबै पालिकाबाट डिजिटल प्रतिवेदन आउन थालेको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।
जैमिनी र गलकोटले यो विधिलाई सबैभन्दा अगाडि प्रयोगमा ल्याएका थिए भने अन्यले क्रमशः प्रयोग बढाएका हुन् । जैमिनी नगरपालिकाको १० वटा वडामा रहेका स्वास्थ्य चौकीले दैनिक कति बिरामीको स्वास्थ्य परीक्षण भयो तीमध्ये को कुन रोगको बिरामी हो भन्ने समेत छुट्टाएर नगर स्वास्थ्य शाखामा पठाउने गरेको शाखाका प्रमुख गोबिन्द प्रसाद शर्मा आचार्यले बताए ।
केही समयअघिसम्म कागजमा राखेको रेकर्ड पठाइन्थ्यो भने अब भने नगरपालिकामा बसेर उक्त डाटा सहजै पत्ता लगाउन सकिन्छ । हरेक दिनको डाटा पालिकामा आएपनि स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन पनि पठाउने गरेका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख गोबिन्द प्रसाद शर्मा आचार्यका अनुसार हरेक स्वास्थ्य संस्थामा मासिक ३ सय र प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेरामा मासिक १ हजार १ सय जना सम्म बिरामीले सेवा पाएको देखिन्छ ।
यो प्रविधिले रोगको प्रकृतिको अनुसन्धान, उपचार पद्दतीको विकास तथा आवस्यक श्रोत साधनको खोजी गर्न सहज भएको आचार्यले बताए । ‘हरेक स्वास्थ्य संस्थामा दुई जना तािलम प्राप्त स्वास्थ्यकर्मी तयार छन्’ उनले भने, ‘ल्यापटप र इन्टरनेटको पनि सुविधा पुगेको छ ।’ नगरपालिकाले सफ्टवेयर खरिद गरेर सबै स्वास्थ्य संस्थामा पु¥याएको उनले बताए । यसअघि वर्षभरीको कागजी प्रतिवेदन बनाएर मात्र पेश गरिंदा समस्याबारे अनुसन्धान हुने थिएन ।
गलकोट नगर अस्पतालमा दैनिक १ सय ५० देखि १ सय ८० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गरेको रिपोर्टसहित हरेक स्वास्थ्य शाखाको प्रतिवेदन पनि बुझाउने गरेको नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । अस्पतालमा जम्मा भएर नगर स्वास्थ्य शाखामा आएको डाटा हरेक दिन प्रविस्टी गरेर मात्रै स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेल बाहिरिन्छन् । यो डाटाले हरेक दिनको बिरामीको प्रकृति र उपचारको अवस्थाबारे अध्ययन गर्न पाएको उनले बताए ।
टिकट काट्ने बित्तिकै बिरामीको बिवरण र रोगको प्रकृति अनलाइनमा प्रविष्टी गर्ने गरी दशवटै पालिकामा डिजिटल विधि शुरु भएको शर्माले बताइन् । यो विधिलाई ‘ईएसएमआइएस’ विधि नामाकरण गरिएको छ । यो विधिबाट राज्यको साधान श्रोत सदुपयोग भएको शर्माले बतायन् । ‘सूचना एकीकृत भएको छ, अब एउटै सिस्टममा पुगेर जिल्लाभरको डाटा खोजी गर्न सकिन्छ’ शर्माले भनिन्, ‘प्रदेशमा बसेर पनि सबै वडा तहको बिरामीको अवस्था अध्ययन गर्न सकिने भएको उनले बताइन् । झण्डै दुई वर्ष अघिदेखि शुरु भएको यो विधिले पूर्णता पाएको उनले बताइन् ।
यो विधि अपनाएका सबै स्वास्थ्य संस्थामा औषधी बिक्री तथा टिकट शुल्क पनि अनलाइन बीलबाट काटिन्छ । यो विधिले स्वास्थ्य संस्थामा पारदर्शीता समेत बढेको हो । ‘बिशेषगरी औषधी पठाउने काममा यो विधि धेरै उपयोगी भएको छ’ शर्माले भनिन्, ‘अघिल्लो महिनाको समीक्षाबाट कुन प्रकृतिको औषधि कति चाहिन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’ जिल्लामा रोगको प्रकृति र मौषम अनुसार हुने असरबारे पनि अध्ययन गर्न सहज भएको उनले बताइन् ।





