पोखरा/पोखरामा पत्रकारको लागि पुस्तकालय बनेको छ । नेपाल पत्रकार महासंघ कास्कीको पहलमा निर्मित इ–लाइब्रेरी तथा स्रोतकेन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे ।
उनले पठन संस्कृतिको विकासमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय पठन संस्कृति हराउँदै गएको र हरेक कुरा स्मार्ट फोनमा खोज्ने प्रवृत्ति बढेको तर गहन विषयको खोज पुस्तकमै सम्भव हुने पनि उनको भनाइ थियो । पूर्ण प्रेस स्वतन्त्रताबिना लोकतन्त्र नरहने बताउँदै उनले लोकतन्त्रका पक्षमा पत्रकारले दिएको योगदानको स्मरण पनि गरे ।
गण्डकी प्रदेशसभाका सांसद एवम् पूर्वकानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रेस स्वतन्त्रतालाई आत्मसातगर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण साबित हुने बताए । सरकारका पछिल्ला गतिविधिले. स्वतन्त्र प्रेस असुरक्षित हुने हो कि भन्ने आशंका उब्जिएको पनि उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पनि बोलेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ई—लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) र स्रोत केन्द्रको स्थापना गरिएको उनले जानकारी गराइन् ।
पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक सेवा केन्द्र (ईन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनव्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन् ।





