पोखरा/संघीय सरकारले नवलपुर नमूना जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा नमूना सदरमुकामका लागि बजेट समाबेश गरिएको हो । गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको नवलपुर जिल्ला संघीयता कार्यान्वयनमा आएसँगै नवलपरासीबाट टुक्रिएर बनेको जिल्ला हो । त्यसैले यहाँ पुराना भौतिक संरचना नभएकाले नयाँ संरचना निर्माणका लागि रकम विनियोजन गरिएको हो ।
तर यो जिल्लामा कति रकम विनियोजन गरिएको हो भन्ने खुलाइएको छैन । विभिन्न कारणले यसअघि दुई पटकसम्म विनियोजित रकम फ्रिज भएर गएको थियो भने चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँ र अर्थमन्त्रालयले सुनिश्चित गरेको ५० करोड रुपैयाँले नवलपुर सदरमुकाममा भौतिक संरचना निर्माणको काम प्रक्रियामा गएको छ ।
नवलपुरमा नयाँ भवन निर्माणका लागि प्रतिवेदन स्वीकृत भएर बहुवर्षीय योजना पनि स्वीकृत भएको छ । भनव निर्माणका लागि २५ वटा निर्माण व्यवयशायीले टेन्डर हालेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको भनाइ छ । यो रकमले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बनाउने तयारी छ ।
सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा संघ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने योजना बनाइएको छ । नमूना सदरमुकाम निर्माणस्थलमा संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने योजाना छ । साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका आधुनिक संरचनासमेत निर्माण गर्ने योजना छ ।





