बागलुङ/शिक्षाविद बिद्यानाथ कोइरालाले गरिखान सक्ने अवस्था बनाउनु नै गुणस्तरीय शिक्षा भएको बताएका छन् । उनले शिक्षामा रुपान्तरण भनेको पढाउने तरिका र सोचमा परिवर्तन गर्नु भएको समेत बताए ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति, महासंघ, गण्डकी प्रदेशको आयोजनामा भएको शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा बोल्दै हरेक विद्यार्थीलाई सीप सिकाउनुपर्ने बेला आएको बताए । उनले हरेक विद्यार्थीको मार्कसिटको पछाडि उसले जानेको सीप उल्लेख गरेर प्रमाणपत्र दिन सकेमा रोजागारीको लागि बिदेश जानुनपर्ने समेत बताए ।
प्रविधि जानेको, गरिखान सक्ने र प्रश्न गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुनै गुणस्तरीय शिक्षा भएको भन्दै त्यसका लागि शिक्षकले चाहेमा हरेक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सक्ने बताए । उनले भाषा मर्न नदिने, वैज्ञानिक शिक्षा, व्यवहारबादी शिक्षा दिन पनि शिक्षकले सक्ने बताए । उनले नेटको शिक्षक, भेटको शिक्षक र घुमन्ते शिक्षकको व्यवस्थापन गरेर पढाउन पनि आग्रह गरे । इन्टनेटको प्रयोग गरेर पढाउने र बेला बेला विद्यार्थीलाई घुमाउने तथा विद्यालयमा आएका पाहुनालाई पनि पढाउन लगाउँदा विद्यार्थीले धेरै कुरा सिक्न पाउने उनले बताए । उनले विद्यालयमा विद्यार्थीलाई सैद्दान्तिक शिक्षा मात्र दिंदा बेरोजगारी बढेको बताए ।
कार्यक्रममा कोइरालाले एक घण्टा लामो प्रस्तुतीकरण गर्दै नेपालको विद्यालय शिक्षा सुधार गर्न शिक्षा ऐन नियम बाधक नभएको बताए । ‘शिक्षा ऐन नयाँ आउनु पर्छ, त्यो आवस्यक छ, तर विद्यालय सुधार्न, कक्षा कोठामा विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन कसैको ऐन चाहिंदैन’ कोइरालाले भने, ‘शिक्षकहरु नपढ्ने भुत्ते भए, राजनीतिका भजने भए, बुद्धिजिवी भन्ने तर सिल्ली भए ।’ उनले भुत्ते हतियारले परिणाम नदिएभैm शिक्षकहरुपनि नपढ्ने भएको टिप्पणी गरे । सामुदायिक विद्यालयले गरेका कतिपय अभ्यास राम्रो भएपनि अनुसरण नभएको उनको भनाई थियो ।
कार्यक्रममा पूर्व शिक्षक तथा अभियानकर्मी पूर्णप्रसाद दवाडीले विद्यालय विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावक उत्प्रेरणा विषयक प्रस्तुतीकरण गर्दै प्रधानाध्यापक र अध्यक्ष हात बाँधेर बस्दा विद्यालयहरु मर्ने अवस्था आएको टिप्पणी गरे । अब केही गरौं भन्ने प्रण गर्दा सामुदायिक विद्यालय अगाडि बढ्ने बताए । उनले सामुदायिक विद्यालयले शुल्क लिनै हुँदैन भन्ने मान्यताबाट माथी उठेर अभिभावकको साथ लिएर कतिपय काम गर्न सक्ने भन्दै अभिभावकलाई पनि आफ्नो विद्यालय भन्ने मान्यता दिन सकेमा सामुदायिक विद्यालयमा सुधार आउने बताए ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति, महासंघका गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापाको अध्यक्षता, कोषाध्यक्ष भावना श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरु चम्पादेवी खड्का, डिल्लीराम सुवेदी, जितबहादुर शेरचन, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युक्तप्रसाद शर्मा, पेशागत संगठनका प्रमुखहरुको तर्फबाट उमाकान्त पौडेल, गोपाल कुमार शर्मा, गंगा शर्मा, झपेन्द्र क्षेत्री र मित्रदत्त ढकालले बोलेका थिए ।
कार्यक्रममा पत्रकार सुवास आचार्यले सामुदायिक विद्यालयले चाहेमा गर्न सक्छन् भन्ने सन्देशको भिडियो प्रस्तुतीकरण र बानपाका शिक्षा अधिकारी धन प्रसाद पोखरेलले सामुदायिक र संस्थागत विद्यालयको फरक विषयमा प्रस्तुतीकरण गरेका थिए । जिल्लाभरका सामुदायिक विद्यालयका प्रअ र अध्यक्ष सहितको उपस्थिति रहेको कार्यक्रमले शिक्षा क्षेत्रमा सुधार गर्ने प्रसस्त आधार दिएको समेत सहभागिले बताए ।





