बागलुङ/औषधी व्यवस्था विभागमा दर्ता नगरी औषधी बिक्री गरेको आरोपमा प्रशासनले बागलुङ बजारका तीनवटा मेडिकल पसलमा ताला लगाएको छ । ती पसलले गैरकानूनी औषधी बिक्री गरेको अनुगमनमा भेटिएको थियो ।
औषधि व्यवस्था विभागले तीनवटै पसललाई निलम्बन गरेको पत्र पठाएपछि प्रशासनले ताला लगाइदिएको हो । ताला लगाइएकोमा जिपपार्क नजिकै रहेको धौलाश्री मेडिकल, अस्पताल रोडमा रहेको लेखानी र केसी मेडिकल हल छन् ।
प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च र अन्य सरोकारवाला समेत पुगेर ती पसलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । ती मध्ये धौालाश्री मेडिकलका संचालक दिलीप यादव भने अनुगमन टोली आएको थाहा पाएर भागेका थिए । मानव स्वास्थ्यमा खेलवाड हुने गरी औषधी बिक्री गरेको एक महिना अघिको अनुगमनको क्रममा भेटिएको थियो ।
ती पसलमा औषधी व्यवस्था विभागले स्विकृति नदिएको औषधी बेचेको र लागूऔषधको रुपमा प्रयोग हुने औषधीको लागत नराखी बेचेको भेटिएको थियो । एक महिना अघिको अनुगमनमा पनि यादवले सेवाग्राहीलाई भित्रै थुनेर चाबी लगाई भागेका थिए । भाग्दाभाग्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले ती पसलमा यादवले औषधी व्यवस्था विभागमा दर्ता नभएका र बेच्नै नपाइने औषधी समेत बेचेको भेटिएको बताए ।
लामो समयदेखि उनलाई गैरकानूनी काम नगर्न सुझाएपनि अटेर गरेको समयमा विभागको अनुगमनमा पनि उक्त प्रमाण भेटिएको थियो । अस्पतालको फार्मेसीमा मात्रै राख्न पाउने औषधी पनि उनले बेचेका थिए ।
त्यस्तै, लेखानी र केसी मेडिकलमा पनि विभागमा दर्ता नभएको औषधी बेचेको र भण्डारन गरेको भेटिएपछि कारवाही सिफारिस गरिएको हो । ‘पहिलो चरणमा उहाँहरुलाई ७ दिन निलम्बन गरिएको छ’ जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नासु रामप्रसाद शर्माले भने, ‘थप अनुसन्धानपछि के गर्ने आदेश आउँछ, त्यसै गर्ने हो ।’ उनीहरुलाई प्रशासनमा हाजिर हुने आदेश दिइएको उनले बताए ।





