बागलुङ/गलकोट नगर अस्पतालमा शनिवार मुटु रोग सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज कोइराला सहितको टोलीले शिविर सम्पन्न गरेको हो ।
शिविरमा १ सय ५० जना बिरामीले उपचार सेवा लिएका थिए । ती मध्ये १ सय ५ जनाको मुटुको इको गरिएको थियो भने २० जनाको मुटुमा जन्मजात समस्या देखिएकोले थप उपचारका लागि पोखरा बोलाइएको थियो । शिविरले बढी मात्रामा बालबालिकाले सेवा पाएको बताइएको छ ।
अस्पतालले नियमित सेवा दिइरहेको समयमा मुटुरोगबारे सचेतना फैलाउने र अत्यावस्यक सेवा चाहिने बिरामीलाई निशुल्क उपचार सेवा दिने गरी शिविर आयोजना गरिएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । विशेषज्ञ सेवाले अस्पताल र नगरपालिकाप्रति आम नागरिकको विश्वास बढेको बताए ।
शिविरको उद्घाटन गर्दै नगरप्रमुख भरत शर्मा गैरेले पहिलो पटक विशेषज्ञ तहको शिविर भएकोले आगाामी दिनमा पनि थप शिविर र उपचारको व्यवस्थापन गर्दै जाने बताए । उनले घरघरमा पुगेर अस्पतालका चिकित्सक, स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले जेष्ठ नागरिकलाई दिएको सेवाले पनि समाजमा सकारात्मक सन्देश गएको भन्दै आगामी दिनमापनि ती योजनालाई निरन्तरता दिने बताए ।
कार्यक्रम नगर उपप्रमुख फमलाल निउरेको स्वागत र स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।





