बागलुङ/युवामा दुव्र्यसन र बिकृतिलाई निरुत्साहित गर्न बागलुङमा सचेतना परामर्श कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालयको आयोजना, जीवन बाटिका नेपाल स्याङ्जाको आयोजना, बागलुङ जेसीज र चिल्ड्रेन लाइफ बोडिङ स्कुलको समन्वयमा सचेतना तथा परामर्स कार्यक्रम गरिएको हो ।
चिल्ड्रेन लाइफ बोडिङ स्कुलमा भएको कार्यक्रममा जीवन बाटिका नेपालका अध्यक्ष समिर गुरुङले सहजीकरण गरेका थिए । उनले लागुपदार्थ, मद्यपान र धुम्रपान सेवनले व्यक्तिलाई मात्र नभई समग्र समाज र देशलाई नै असर पर्ने भएकाले यसबाट टाढा रहनुपर्ने बताए ।
गुरुङले लागुपदार्थ, मद्यपान र धुम्रपान सेवनले गर्ने असर, यसबाट बच्न सक्ने उपाय लगाएतका बिषयमा सहजिकरण गरेका थिए । पछिल्लो समय युवा बिद्यार्थीमा यसको असर बढि देखिन थालेकाले युवा बिद्यार्थीलाई सचेत गराइ परिवार र समाजलाई समेत सेचत गराउनका लागि कार्यक्रम गरिएको जीवन बाटिका नेपालका सल्लाहकार रुमा प्रधानले बताइन् ।
कार्यक्रममा जीवन बाटिका नेपालका संस्थापक अध्यक्ष नविन अर्याल, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ र सहभागी बिद्यार्थी रितिस्मा केसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बागलुङ जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष गणेश महताको अध्यक्षता, उपाध्यक्ष रोहन जिसीको स्वागत र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





