बागलुङ/पक्की भवनका फराकिला कोठाहरु अस्पताल जस्तै व्यवस्थापन गरिएका छन् । भवनको मुलद्धारबाट प्रवेश गरेपछि बायाँतर्फको कोठामा स्वास्थ्यचौकी प्रमुख डिलबहादुर थापालाई बिरामी जाँच्न भ्याइनभ्याइ हुन्छ । उनले दिनमै ४०÷५० जना बिरामी जाँच्न भ्याउँछन् । अर्को कोठाबाट नाम दर्ता र औषधि बितरण गर्न स्वास्थ्यकर्मी व्यस्त रहन्छन् ।
स्वास्थ्यचौकीमा गर्भवती, सुत्केरी र नवजात शिशुको खतरा टार्ने वार्ड छन्् । जहाँ बर्थिङ सेन्टर, बेबी वार्मर र बिरामी राख्ने बेड र उपचारका उपकरणहरु तयारी अवस्थामा छन् । मुलद्वारको ठीक अघि नर्सिङ स्टेशन छ । झट्ट हेर्दा सहरका स्वास्थ्य संस्थाभन्दा कम छैन्–सर्कुवा स्वास्थ्यचौकी । जैमिनी नगरपालिका–४ सर्कुवास्थित यो स्वास्थ्यचौकी यहाँका सर्वसाधारणको टाउको दुख्दादेखि सुत्केरी हुँदासम्मको भरोसा हो । स्वास्थ्यचौकीको व्यवस्थापनले अस्पतालको झल्को मेटाउँछ । ‘हामीसँग धेरै अभावहरु छन्, भएको जनशक्ति, पूर्वाधार र उपकरणलाई प्रयोग गरेर सेवा दिने प्रयास गरेका छौं,’ स्वास्थ्यचौकीका प्रमुख डिलबहादुर थापाले भने‘हामीले उपचारभन्दा निधानात्मक काम धेरै गर्नुपर्ने हो तर सबै समस्यासँग जुधिरहेका छौं ।’ स्वास्थ्यचौकी व्यवस्थापन समितिको साथ, स्वास्थ्यकर्मीको मेहनत र सरोकारवालाको सहयोगले स्वास्थ्यचौकी सुधार भएको उनले बताए ।

स्वास्थ्यचौकी अस्पताल जस्तै बन्नका लागि धेरै पक्षको साथ र सहयोग छ । यहाँको व्यवस्थापनको खटनपटन, स्वास्थ्यकर्मीको कामप्रतिको लगाव र दाताहरुको स–साना सहयोगले पनि स्वास्थ्यचौकी जैमिनी नगरपालिकाको अब्बल स्वास्थ्य संस्था बनेको छ । दाता संस्थाहरु, स्थानीयको साथ र सहयोग तथा नगरपालिकाको पूर्ण साथले स्वास्थ्यचौकी अस्पतालजस्तै बनेको नगर स्वास्थ्य शाखाका प्रमुख गोविन्द आचार्यले बताए ।
यहाँ सबैभन्दा धेरै गर्भवती, सुत्केरी र नवजात शिशुको ख्याल राखिन्छ । चौकीले सरकारले उपलब्ध गराउने निशुल्क औषधि उपलव्ध गराउँछ भने जनस्वास्थ्यका कार्यक्रमहरु सर्वसाधारणसँग जोडेर सञ्चालन गर्छ । जैमिनीका अन्य स्वास्थ्य संस्थाहरु जस्तै चलिरहेको स्वास्थ्य चौकी अरुभन्दा फरक बनेको केही वर्षमात्रै भएको आचार्यले बताए । सर्कुवा स्वास्थ्यचौकी सुधारको उदाहरण हेरेर अन्य स्वास्थ्य संस्थाले पनि सिको गर्न थालेका छन् ।





