बागलुङ/नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले बागलुङ नगरपालिका वडा नं. ५ मालिकामा बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा मालिका माध्यमिक विद्यालय र श्रीकृष्ण आधारभूत विद्यालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत १ सय ५० जना विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको थियो ।
शिविरमा १ सय ५२ जना जेष्ठ नागरिकको मधुमेह परिक्षण तथा ३ सय ४१ जनाको आँखा जाँच गरिएको थियो । आँखा जाँच गर्दा ६ जना जेष्ठ नागरिकमा मोतिया बिन्दु देखिएको, ९ जना जेष्ठ नागरिकलाई थप उपचारको लागि धौलागिरी आँखा अस्पताल बागलुङमा रिफर गरिएको छ भने २० जना जेष्ठलाई चस्मा वितरण गरिएको थियो ।
मालिका समाज जापानको आर्थिक सहयोग, धौलागिरी आँखा अस्पताल बागलुङ तथा मालिका स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा संचालित शिविरमा आँखा जाँच धौलागिरी आँखा अस्पताल बागलुङका अप्थाल्मिक टेक्निसियन सबिना बराल, रक्त समुह परिक्षण धौलागिरी प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन हरि शर्मा र प्रेसर तथा सुगर जाँच स्वास्थ्य चौकीका विलासचन्द्र पौडेल, बैकुण्ठ न्युरे तथा राधाकुमारी शर्माले गरेका थिए ।
सो अवसरमा गण्डकी प्रदेशका पुर्व सांसद इन्द्रलाल सापकोटाले ग्रामिण इलाकामा रेडक्रसले निशुल्क स्वास्थ्य शिविर संचालन गरेर रेडक्रसले सह्रानिय कार्य गरेको बताए । विकासका पुर्वाधार गाँउ पुगेपनि बसाइसराई तथा बैदेशिक रोजगारीले गर्दा जेष्ठ नागरिक मात्र रहने अवस्था सृजना भएको समयमा यस्ताखालका कार्यक्रम सान्र्दभिक हुने उनको भनाई थियो ।
नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका सभापति रेशमलाल सापकोटाको अध्यक्षता, स्वागत गणेश प्रसाद शर्मा र र सचिव मातृका आचार्यले संचालन गरेको कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।






