पोखरा/ कास्की प्रहरीले प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका १ स्थायी घर भइ हाल पोखरा १८ बस्ने ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ स्थायी घर भइ पोखरा ८ बस्ने ४७ वर्षीया सीता गुरुङ र पोखरा ३, तेर्सापट्टिमा ४७ वर्षीय जीवन सार्की रहेका छन् ।
योसँगै सहकारी ठगी प्रकरणमा हालसम्म १२ जना पक्राउ गरेका छन् । तीमध्ये ७ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षको लागि थुनामा पठाएको छ । सुरुमा पक्राउ परेका सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । सुरुमै पक्राउ परिएका र विभिन्न कारोबारमा नाम जोडिएएका मनबहादुर गुरुङ (माने),राष्ट्रिय सहकारी संघ कास्कीका पूर्वप्रवन्धक सन्तोष घिमिरेलाई अदालतले धरौटीमा छाडेको थियो । पक्राउ परेकामध्ये प्राइमका कानूनी सल्लाहकार इन्द्र बराल अनुसन्धानमा सघाउने गरी आवश्यक परेका खण्डमा उपस्थित हुने गरी उच्च बार एसोसिएसन र उनकै छोरीको रोहबरमा छुटेका थिए ।
पोखरा ४, गैह्रापाटनमा रहेको प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ६६ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सरकारी वकिलको कार्यालयले जेठ २७ गते दायर गरिएको मुद्दामा ती व्यक्तिविरुद्ध १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबी गरेको थियो । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका वित्तीय विश्लेषक निर्मल गौतमले तयार पारेको प्रतिवेदनअनुसार सुरेन्द्रमणि र निरुको प्रमुख संलग्नतामा सहकारीको रकम घरजग्गा किन्ने, मिटर ब्याजमा लगाउने, फर्जी खाता र फर्जी कारोबार गरेको देखाएर हिनामिना गर्ने गरेको पाइएको छ ।
२०६६ सालमा दर्ता भएर सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की पोखराबाट २०७२ असारबाट बहुउद्देश्यीयमा रुपान्तरित भएको यो सहकारीको कार्यक्षेत्र सुरुमा पोखराका वडा नम्बर ३, ४, ५, ८ र ९ भर रहेकोमा अहिले कास्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र कायम छ । यसको कार्यालय पोखरा महानगरपालिका वडा नं ४ मा रहेकोमा लेखनाथ, बगर, नयाँपुल गरी ३ सेवा केन्द्रमार्फत् कारोबार गरिरहेको थियो ।





