बागलुङ/धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्यामपस धौलागिरि बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चित प्रत्यायान (क्युएए) प्रमाणपत्र पाएको छ । असार ६ गतेको आयोगको निर्णयपछि बुधबार क्याम्पसले क्युएए प्रमाणपत्र पाएको हो ।
क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायका अनुसार क्याम्पसले छैठौं नम्बरमा प्रमाणपत्र पाएको हो । यो प्रमाणपत्र पाइसकेपछि आवस्यकताको आधारमा विभिन्न संकाय थप गर्ने अवसर पाउने उपाध्यायले बताए । लामो समयदेखि यो प्रयास थालेपनि क्याम्पसमा केही सूचक पुरा नहुँदा क्युएएमा जान सकेको थिएन ।
पछिल्लो समय क्याम्पसमा कम्तिमा ५० प्रतिशत स्थायी प्राध्यापक भएका छन् । त्यस बाहेक स्वतन्त्र विद्यार्थी युनियनकै अगुवाईमा आन्तरिक परीक्षा प्रणाली शुरु भएको छ । क्याम्पसको भौतिक अवस्था पर्याप्त, पुस्तकालय, प्रयोगशाला, प्रविधिमैत्री पढाइ लगायतको सूचक पनि पुरा भएको हो । ती सूचक पुरा भएसँगै अधिकांस प्राध्यापक अनुसन्धानमूलक काममा लागेको समेत उपाध्यायले बताए । ‘हाम्रा धेरै प्राध्यापकले अनुसन्धानमूलक काम थाल्नुभएको छ’ उनले भने, ‘दुइतीन वर्षको अवधिमा तोकेका १ सय ८ सूचक पुरा गर्न सफल भएका छौं ।’
क्याम्पसले शुरु गरेको बिबिए कार्यक्रम नेपालकै उत्कृष्ठ समेत बनेको छ । यो सूचक प्राप्त भएपछि पनि क्यामपसले निरन्तर प्रगती भने गरिरहनुपर्ने आवस्कता छ । हरेक ५ वर्षमा क्युएए नविकरण गर्नुपर्ने प्रावधान छ । त्यतिबेला हालको गुणस्तर बढ्दो क्रममा हुनुपर्ने समेत व्यवस्था छ ।
क्युएए सुनिश्चित भएपछि आयोगले एक विद्यार्थी संख्याको आधारमा ३५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था छ । त्यसले क्याम्पस संचालनमा थप योगदान पुग्ने छ । आयोगले २०८१ सालको अन्त्य सम्ममा सबै क्याम्पसलाई क्युएएको बाटोमा जान सुझाएको थियो । नेपालभरका सामुदायिक, संस्थागत र सरकारी गरी १ हजार ५ सयबढी क्याम्पसमा ९५ वटाले मात्र क्युएएको बाटो रोजेका छन् । अझैपनि यहाँको बिबिए र विज्ञान संकाय आंशिक र करार शिक्षकको भरमा चलेको छ । यो प्रमाणपत्रले पनि प्राध्यापक थप गर्ने बाटो खुल्नेछ ।
आयोगको सूचकमा अपांगमैत्री पुस्तकालय संचालन भएको हुनुपर्ने उल्लेख छ । क्याम्पसले निर्माणाधिन भवनमा अपांगमैत्री पुस्तकालयको तयारी गरेको हो । हाल यो क्यामपसमा २ हजार विद्यार्थी अध्ययनरत छन् ।





