बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा

बागलुङ पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा

यो अभियानले बाल तथा मातृ मृत्युदर घटाउने विश्वास


  • ढोरपाटन संवाददाता
  • असार २० २०८१, बुधबार

बागलुङ/बागलुङलाई पूर्ण खोप सुनिश्चित भएको तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए ।
पाँच वर्ष मुनिका १७ हजार २ सय ४६ बालबालिकाले आवस्यक सबै खोप पाएपछि बागलुङलाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चित बनाएर दिगोपनाको रुपमा पनि लगेकोले मन्त्री थापा र स्वास्थ्य मन्त्रालयका सचिव बिनोद बिन्दु थापाले जिल्ला खोप समन्वय समितिसहित ४ नगरपालिका र ६ गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरे । यो अभियानले बाल तथा मातृ मृत्युदर घटाउने विश्वास गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।
समितिको निर्देशनमा जिल्लाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि समेतले ८५ वटै वडाका सबै घरधुरीमा सर्भेक्षण गरेर कोही पनि बालबालिका खोप लगाउनबाट वञ्चित नभएको प्रमाणित भएपछि मात्रै यो घोषणा गरिएको हो । ‘कोही पनि खोप लगाउनबाट बञ्चित छैनन्’ आचार्यले भने, ‘अब जटिल प्रकारका रोगबाट बालबालिकालाई बचाउन सकिन्छ ।’
आचार्यका अनुसार बिफर उन्मुलन भैसकेकोमा धनुस्टंकार, जापनिज इन्सेफ्लाइटिस, हेपाटाइटिस लगायतका रोग निवारण भएको, पोलियो शुन्यमा झरेको र दादुरा तथा रुवेला रोग पनि नियन्त्रणमा आएको हो ।
यो अभियान पुर्णतामा पुग्दा जिल्लाका स्थानीय तहले शुरु गरेको बालमैत्री अभियान सफल बनाउन सहयोग पुगेको छ । बागलुङ र जैमिनी नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा छन् । गलकोटले बालमैत्री नगर घोषणा गरिसकेको छ । अन्य पालिकाले बालमैत्री सूचकमा काम गरिरहेका छन् ।
घोषणा कार्यक्रमअघि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका सहितले पञ्चेबाजा, भजन गाएर ¥याली गरेका थिए । ¥यालीपछिको कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेशमै स्वास्थ्यको सूचक बलियो बन्दै गएको बताए । उनले यी सूचकलाई निरन्तरता दिने गरी काम गर्ने प्रतिवद्दता समेत जनाए । गण्डकी प्रदेशको बागलुङलाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु थापाका अनुसार चालु आवमा बागलुङको बागलुङ नगरपालिकाका जन्मेदेखि १५ महिनासम्मको ७ सय ४८ जना १६ महिनादेखि ५ वर्ष मुनिका २ हजार ४ सय ६३, गलकोटका जन्मदेखि १५ महिनासम्मका ५ सय १६ जना बालबालिका १६ महिनादेखि ५ वर्ष मुनिका १ हजार ६ सय ८३, जैमिनीका जन्मेदेखि १५ महिनाका बालबालिका ३ सय ३५ जना र १६ महिनादेखि ५ वर्ष मुनिका १ हजार १ सय १९, ढोरपाटनका जन्मेदेखि १५ महिनासम्मका ७ सय ३२ जना बालबालिका १६ महिनादेखि ५ वर्ष मुनिका २ हजार १ सय ३० जना बालबालिकालाई पुर्ण खोप लगाइएको छ ।
काँठेखोलाका जन्मदेखि १५ महिनासम्मका ३३२ जना बालबालिका १५ महिनादेखि ५ वर्ष मुनिका ७ सय ३६, तमानखोलाका जन्मदेखि १५ महिनासम्मका १ सय ६४ जना बालबालिका १५ महिनादेखि ५ वर्ष मुनिका ६ सय २६, निसीखोलाका ५ सय ३९ जना बालबालिकालाई १५ महिनादेखि ५ वर्ष मुनिका १ हजार ५ सय १९, बरेङका जन्मदेखि १५ महिनासम्मका १ सय ४४ जना बालबालिका र १५ महिनादेखि ५ वर्ष मुनिका ५ सय ४६, ताराखोलाका जन्मदेखि १५ महिनासम्मका १ सय ६१ जना बालबालिका र १५ महिनादेखि ५ वर्ष मुनिका ५ सय र बडिगाडका जन्मदेखि १५ महिनासम्मका ५ सय १९ जना बालबालिका र १५ महिनादेखि ५ वर्ष मुनिका १ हजार ७ सय ३४ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक अमर थापाको अध्यक्षता, स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाको संचालन र धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधानको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, स्वास्थ्य मन्त्रालयका सचिव बिनोद बिन्दु शर्मा, प्रदेश सांसदसहितका जनप्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->