बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

नवलपुर / नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज) का सबै ढोका खोलिएका हुन् ।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए ।

गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले बताए। आज बिहान ७ बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताए ।

नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक  थियो ।

त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अवरुद्ध सडक खुल्न समय लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->