लमजुङ/ लमजुङको बेंसीशहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७५ करोड ७२ लाख ७३ हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न नगरसभाको १५ औं अधिवेशनले बजेट, योजना, नीति र कार्यक्रम सुझावसहित पास गरेको हो ।
नगर उपप्रमुख पद्मा गुरुङले नगर र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४४ करोड ५६ लाख, ६९ हजार र पुँजीगत तर्फ ३१ करोड १६ लाख ४ हजार बजेट प्रस्ताव गरेकी थिइन । प्रस्तुत योजनामा नगरपालिकातर्फ विभिन्न शीर्षकमा २ सय ६३ र वडागतरुपमा ३ सय ४ वटा योजना रहेका छन् ।
उपप्रमुख गुरुङले प्रस्तुत गरेको बजेटमा राजश्वका विभिन्न शीर्षकबाट २२ करोड ८० लाख २५ हजार र अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ५२ करोड ९२ लाख ४८ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ । नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षमा भएको कार्यक्रममा अर्यालले निर्णयका लागि प्रस्तुत गरेको नीति, कार्यक्रम, योजना र बजेट, बेसीशहर नगरपालिकाको विनियोजन विधेयक २०८१, कार्यपालिकाले गरेका निर्णय लगायत ४५ वटा निर्णयहरु नगरसभाले सर्वसम्वत रुपमा पारित गरेको छ ।
नगरप्रमुख गुमानसिंह अर्यालले सम्बोधन गर्दै आवश्यकता र प्रथामिकताका आधारमा बिना भेद्भाव, पक्षपात रहितरुपमा नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत भई पारित भएको बताए । अर्यालले यसपटक केन्द्रबाट बजेट कटौति गरिएकोले नगरबासीको अपेक्षा अनुसार योजना निर्माण गर्न नसकिएको नगरसभामा जानकारी गराएका थिए ।
नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरुलगायतको उपस्थिति रहेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए । नगरसभा यसअघि असार १० गते सुरु भएर बुधबार सम्पन्न भएको हो ।





