बागलुङ/बडिगाड गाउँपालिकाले मध्यपहाडी लोकमार्ग आसपासका बजारमा गरेको अनुगमनको नौ महिनापछि सो क्षेत्रका पसलको अनुगमन गरिएको छ । चार्डपर्व लक्षित गरेर गाँउपालिकाले गत असोज २२ र २३ गते लोकमार्ग क्षेत्रका खौलार, खर्बाङ तथा भिमगिठे बजारक्षेत्रका पसलको अनुगमन गरेको थियो ।
उक्त अनुमनपछि जिल्ला प्रशासनको टोलीले खार, खौलार, न्वार र खर्वाङ हाँडिखोला आसपासका बजारमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल नेतृत्वको टोलीले बडिगाड क्षेत्रका पसलहरुको अनुगमन गरेको हो ।
जिल्ला प्रशासनसहित, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख सहन्सा कुमार मेहता, गाँउपालिकाका निमित्त प्रशासन अधिकृत चण्डीराज पौडेल, बडिगाड ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, वडा नं. २ का वडाध्यक्ष ढालप्रसाद शेरचन, नेपाल प्रहरी, नगर प्रहरी र पत्रकार लगायतको टोलीले शुक्रबार बजार अनुगमन गरेको हो ।
टोलीले खार बजारको श्रीकृष्ण सपिङ सेन्टरबाट म्याद गुज्रेका सामग्री फेला पारेको छ । म्यास सकिएका वस्तु आवश्यक प्रक्रिया पुरा गरी गाँउपालिकालाई नष्ट गर्न निर्देशन दिएको टोलीले पसल संचालकलाई प्रशासनमा उपस्थित हुन भनेको छ ।
अनुगमनका क्रममा रामहरी पोल्ट्री फर्मबाट भुजा, चिउरा, मह, मैदा, विस्कुट म्याद सकिएको फेला पारेको छ । खौलार, खर्वाङ र हाँडिखोलामा पनि म्याद सकिएका र खाद्य विवरण उल्लेख नभएका सामान फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार, अनुगमनको क्रममा प्रायः पसलमा मुल्य सुचि नभएको, साईन बोर्ड नभएको, तोकिएका बाहेकका सामग्री बिक्री वितरण गरेको, खाद्य वस्तु विना गुणस्तर प्याकेजिङ गर्ने गरिएको भेटिएका थिए ।
पसलमा भेटिएका उपभोक्तालाई गुणस्तरहिन बस्तु खरिद नगर्न, म्याद हेरर मात्र बस्तु खरिद गर्न अुनरोध गर्दै अनुगनमा भेटिएका गल्ती सुधार गर्न पसल संचालकलाई निर्देशन समेत दिएको छ । अनुगमनमा भेटिएका म्याद गुज्रेका सामाग्री व्यापारीले एक हप्ताभित्र फिर्ता गर्ने प्रतिवद्वता जनाएपछि जफत नगरिएको गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताए ।





