बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकअन्र्तगत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार बानपा १ रामरेखामा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले देशकै उष्कृष्ट नगर बनाउने अभियानमा लागेको बताए । उनले पर्यटन प्रवद्र्धन, कृषि उत्पादनमार्फत युवा स्वरोजगार, गुणस्तरीय शिक्षा लगायतका सेवा प्रवाहलाई चुस्त बनाउने पनि बताए ।
जनताका प्रश्नबाट हटेर होइन उनीहरुकै सुझाव र आलोचनाबाट कामलाई परिपक्व बनाउने श्रेष्ठले योजना पनि सुनाए । उनले खानेपानीलाई शुद्द बनाएर १४ वटै वडामा एक घर एक धारा अभियान सफल बनाउने, नागरिकको सुरक्षामा ध्यान दिने बताए । आम नागरिकको प्रमुख प्रश्ननै खानेपानी शुद्ध चाहियो भन्ने भएकोले नगरले पनि शुद्ध पानी खुवाउने योजनालाई नै प्राथमिकता दिएको उनले बताए ।
बजार क्षेत्रमा १ सय ९३ वटा सिसि क्यामेरा जडान गर्ने गरी काम थालिएको पनि उनले जानकारी दिए । बागलुङ उद्योग बाणिज्य संघ र प्रहरीको सहकार्यमा ती सिसि क्यामेरा संचालनमा आउने छन् । ती क्यामेराले सडक सुरक्षामा साथ दिनेछ ।
कालीगण्डकी करिडोर कालोपत्रे भएपछि मात्र बलेवास्थित हवाइ मैदान संचालनमा ल्याउने र आगामी साउनबाटै बागलुङ बसपार्क संचालन हुने उनले बताए । ‘एयरपोर्ट भने घाटाको व्यापार गरेर चलाइने छैन’ श्रेष्ठले भने । उनले तत्कालका लागि अल्ट्रालाइट र माउन्टेन फ्लाइट भने संचालन गर्नेबारे सोचेको उनले बताए ।
फोहोरको दिगो व्यवथापन गर्ने, औद्योगिक ग्रामको सुरक्षा, भूक्षय रोक्ने लगायतका कामबारे पनि उनले प्रष्ट्याएका थिए । दुइ बर्षदेखि नयाँ सडक नखानेकै कारण कतिपय पहिरो नचलेको उनले बताए । प्रश्नकर्ताले भने सडक नालीमा समस्या, घर छेवैमा बाढी पसेको, कृषिको विकासमा काम गर्नेलाई विभेद गरिएको जस्ता प्रश्न उठाएका थिए । अधिकांसले नगर खानेपानीको समस्याबारे प्रश्न उठाएका थिए ।
अधिकांस प्रश्नकर्ताहरुले नगरभित्र शुद्ध पानी कहिले वितरण हुन्छ भनेर प्रश्न गरे । जवाफमा नगरप्रमुख श्रेष्ठले लिफ्ट खानेपानीको योजना पुरा भएपछि संभव हुने बताए । नगर खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका कावा अध्यक्ष हरिबहादुर जिसी सन्तोषले खानेपानीमा भएका बेथिती अन्त्य गर्न र समयमा योजना पुरा गरेर शुद्ध पानी खुवाउने प्रयास गरेको बताए । उनले खानेपानीको शुद्धताप्रति सचेत भएपनि आयोजना पुरा नभएकोमा सबैको चासो हुनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले नगरपालकाले गरेका काम कारवाहीबारे प्रस्तुती गरेका थिए । नेपाल पत्रकार महासंघको सहजीकरणमा भएको सुनुवाईमा दर्जनौ नागरिकले प्रश्न गरेका थिए । कार्यक्रम नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, प्रशासकीय अधिकृत भीमसेन पन्त र पत्रकार महासंघका सचिव विजय रानाको संचालनमा सम्पन्न भएको थियो ।
पत्रकार नारायण रिजालले नागरिक सन्तुष्टी प्रतिवेदन, खेमराज गौतम सुवासले आचार संहिता र प्रकाश बरालले कार्यक्रमको टिप्पणी गरेका थिए । कार्यक्रममा कांग्रेस नेता महेन्द्र आचार्य, एमाले नेता रुद्र महत, राजमो नेता थानेश्वर सुवेदीले धारणा राखेका थिए । सार्वजनिक सुनुवाईमा उठेका जिज्ञाशालाई नगरपालिकाले आगामी कार्यक्रममा भए गरेका उपलब्धी सुनाउने र नभएका कामलाई निरन्तरता दिने लक्ष्य बनाएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंंडेलले बताए ।





