नवलपुर/विनयी त्रिवेणी–७ स्थित ब्यारेज पुलमा एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले उपलब्ध गराएको पछिल्लो खोजतलासको अपडेट विवरणमा १२/१३ वर्षका बालकको शव फेला परेको जनाइएको छ ।
सिमलताल पहिरोमा परेर त्रिशुलीमा हराएको बस घटना पश्चात जारी खोजतलासमा योसहित १३ जनाको शव फैला परेको छ । सोमबार बिहानसम्म ७ जनाको शव सनाखत भएकोमा प्रहरीले दिएको जानकारी अनुसार थप एक जनाको शव सनाखत भएको छ ।
प्रहरीका अनुसार आइतबार अपरान्ह पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ४ मा फेला परेको शव बारा जिल्लाको साविक विश्रामपुर गाविस वडा नं. ४ का ४३ वर्षका प्रमानन्द पण्डितको भएको जनाइएको छ ।
हिजो आइतबार भेटिएका २ र आज सोमबार फेला परेका ३ गरी ५ जनाको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जनाएका छन् ।
भेटिएका शवमध्ये भरतपुर २६ शिसवार क्षेत्रमा भेटिएको अन्दाजी ३०/३५ वर्षको पुरुष, विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ ब्यारेज पुलमा भेटिएको १८/१९ वर्षकी महिला, ब्यारेज पुलमै भेटिएको २५/३० वर्षको पुरुष, मध्यविन्दु नगरपालिका वडा नं. २ भुताहामा भेटिएको ४०÷४५ वर्षको पुरुष र ब्यारेज पुलमै भेटिएको १२/१३ वर्षको बालकको शव सनाखत हुन सकेका छैनन् ।
यस क्रममा त्रिवेणीसम्म भेटिएका शवहरू चितवनस्थित भरतपुर अस्पतालको शवगृहमा राखिएका छन् । चितवन, नवलपुर र नवलपरासी तिन वटै जिल्लाका प्रहरी प्रशासनले खोजी कार्यमा समन्वय गरेका छन् ।






