बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा विश्वविद्यालय २८ वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय २८ वर्षमा प्रवेश


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८१, बुधबार

पोखरा/ पोखरा विश्वविद्यालय २८ वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार बिसं. २०५४ साल श्रावण १ गते स्थापना भएको हो । विश्वविद्यालय स्थापनाको २८ औं वर्षगाँठको अवसर पारेर विश्वविद्यालयले केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमलाई विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले उद्घाटन गरे ।

कार्यक्रममा पोखरा विश्वविद्यालयमा २५ वर्ष अटुट सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदकसहित सम्मान गरियो ।विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, रजिष्टार प्राडा दिपकबहादुर भण्डारी लगायतका पदाधिकारीले दीर्घसेवा पदक पाउने शिक्षक तथा कर्मचारीहरूलाई सुनचाँदीलाई टकमरी बनाइएको दीर्घसेवा पदक, सम्मानपत्र र दोसल्लाले सम्मानित गरे । सम्मानित हुनुहुनेमा प्राध्यापक हरिबहादुर खड्का, सह–प्रशासकहरू– यादव थापा, गोबर्धन भट्टराई, हेमन्तराज कण्डेल, टोलमाया थापा तथा उप–प्रशासकहरू सीतादेवी ढकाल, लोकप्रसाद ढकाल, शंकर पौडेल, सहायक प्रशासक बाबुराम अर्याल, मुख्य सहायक बिमल कार्की, सवारी चालकहरू विष्णुराज गिरी र सुरेन्द्रमान बज्राचार्य एवम् कार्यालय सहयोगीहरू चन्द्रसुवा गुरूङ, चन्द्रकुमारी चेम्जोङ, जीवनाथ फुयल र सन्तोषी गिरी छन ।

स्थापना दिवसलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले पोखरा विश्वविद्यालय जसले जन्मायो उसले धेरै पिडाका साथ जन्माएको उल्लेख गर्दै यसको विकासका लागि सबै सत्पात्र भएर लाग्नुपर्नेमा जोड दिए । । उनले विश्वविद्यालय एउटाको सोच र चिन्तनले मात्र अगाडि नबढ्ने भन्दै यसको सुधारको लागि सबैको सामूहिक दायित्व र कर्तव्य हुनु आवश्यक रहेको उल्लेख गरे । साथै विश्वविद्यालयले समाजको सेवा गर्नुपर्छ भन्दै शिक्षण अस्पताल पनि सञ्चालनमा ल्याएको बताउनले बताए ।

कार्यक्रममा रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारीले पैसाको अभावमा पोखरा विश्वविद्यालयको विकास नरोकिएको उल्लेख गर्दै यहाँ काम गर्ने केहीको नकारात्मक सोच र शैलीले विश्वविद्यालयले अपेक्षित गति लिन नसकेको टिप्पणी गरे । सहि नियत र जिम्मेवारीमा दृढ भई काम गर्नेलाई विश्वविद्यालयले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै राम्रो काम गर्नेको पछाडि अख्तियार नलाग्ने र उसको पदोन्नति पनि नरोकिने बताए । रजिष्टार भण्डारीले विश्वविद्यालय एउटा सिस्टममा चल्ने बताउँदै विद्यार्थीलाई आकर्षित गर्न शिक्षकहरू राम्रो र दक्ष हुनुपर्ने जनाए ।

कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्राडा अजय थापाले विश्वविद्यालयले विगत ५ वर्षदेखि अन्य विश्वविद्यालयसरह विद्यार्थी पलायन जस्तो विशिष्ट खालको चुनौतिको सामना गर्नुपरेको उल्लेख गरे । उनले यसको सुधारका लागि विश्वविद्यालयले नयाँ कार्यक्रम थप र श्रमबजार अनुसार पाठ्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयले उत्पादन गरेका ६० हजार भन्दा बढी दक्ष जनशक्ति स्वदेश, विदेशका बजारमा रहेको उल्लेख गर्दै यो निकै गौरव गर्न लायक विषय भएको उल्लेख गरे ।
विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झेर अनुशासनमा रही जिम्मेवारी बहन गर्नुपर्ने बताए । उहाँले विश्वविद्यालयमा कार्यरत सबै पदाधिकारी, शिक्षक, कर्मचारीको हैसियत सहयोगी भएको उल्लेख गर्दै सेवाग्राहीलाई कसरी छिटो छरितो रूपमा सेवा दिन सकिन्छ भन्ने भावले सबैले काम गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्राडा अमर नागिलाले पोखरा विश्वविद्यालयमा जस्तोसुकै आस्था र विचारमा रहेपनि नियमावलीमा बसेर काम, कर्तव्य र अधिकारमा बसेर काम गर्नेलाई इतिहासले मूल्याङ्कन गर्ने बताए । उनले उच्च शिक्षालाई संसारभर शीरको ताज बनाएर राखिन्छ भन्दै विश्वविद्यालयको केन्द्र भनेको विद्यार्थी रहेको उल्लेख गरे ।

व्यवस्थापन सङ्कायका डीन सह–प्राडा दयाराज ढकालले आफ्नो दुई आमा, एउटा जन्मदिने आमा र अर्को आफ्नो क्षमता, गुणस्तर देखाउने पोखरा विश्वविद्यालय आमा रहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. उमेशसिंह यादवले राष्ट्रिय गान बज्दा त्यसलाई सबैले धक र लाज नमानी गाउनुपर्ने उल्लेख गर्दै यस कार्यले राष्ट्रप्रति उसको सम्मान झल्किने बताए । स्कूल अफ इन्जिनियरिङका स्कूल निर्देशक डा. ओमप्रकाश गिरीले परिवर्तन अरूबाट होइन आफूबाटै शुरू गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादवले विश्वविद्यालयको वर्तमान नेतृत्वको अथक प्रयासले नयाँ नयाँ भवनहरू बनेको, विभिन्न परियोजनाहरू सञ्चालन भएको र अस्पताल सञ्चालन गर्न सकिएको उल्लेख गरे । विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य योगराज लामिछानेले विश्वविद्यालयका नियुक्तिहरू राजनीतिक भागबण्डाका आधारमा हुन नहुने उल्लेख गर्दै यसलाई मापदण्डको आधारमा कार्यविधि बनाएर गर्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्राडा दीपकराज पौडेलले विश्वविद्यालयमा शिक्षकले दिएको प्रेसर छिटो लागू हुने, तर कर्मचारीको सुनेको नसुनै गर्ने प्रवृत्ति गर्न नहुनेमा जोड दिए । विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले पोखरा विश्वविद्यालय छ र त हामी छौं भन्दै सबैले आ–आफ्नो जिम्मेवारी कर्तव्यकासाथ निभाउनुपर्नेमा जोड दिए । स्कूल अफ बिजनेशका प्राध्यापक तथा दीर्घ सेवा पदकबाट सम्मानित व्यक्तित्व प्रा.हरिबहादुर खड्काले पोखरा विश्वविद्यालय पहिला सानो आकारमा रहेको र अहिले बिशाल भएको उल्लेख गर्दै जहाँ गएपनि पोखरा विश्वविद्यालयका विद्यार्थीहरूसँग साक्षात्कार हुने भएकोले हामीलाई सम्मान मिलेको बताए ।

सम्मानित व्यक्तित्व विश्वविद्यालयका सह–प्रसाशक यादव थापाले विश्वविद्यालयले समकालीन सबैलाई सम्मान दिएकोमा विश्वविद्यालयप्रति आभार व्यक्त गरे । सह–प्रशासक तेजनारायण पराजुलीले २७ वर्ष अगाडि रोपेको सानो वृक्ष आज वयस्क भएको र यसबाट प्राप्त फलफूल समाजले पाएर लाभान्वित भएको उल्लेख गरे । सम्मानित व्यक्तित्व सह–प्रशासक टोलमाया थापाले विश्वविद्यालयमा २५ वर्षको अवधि गुजार्नु सानो कुरा नभएको र यो एउटा इतिहास भएको बताइन । कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाईले कर्मचारी पनि विश्वविद्यालयको एउटा हिस्सा भएकोले आस्थाका भरमा विश्वविद्यालयमा शिक्षक र कर्मचारीमा विभेद गर्न नहुने तर्क राखे । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेको सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->