पोखरा/पोखरामा सम्पन्न यु २० बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वर घिमिरेले जितेका छन् । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै इश्वर च्याम्पियन बनेका हुन् ।
हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा भएको प्रतियोगितामा इश्वरले कुल ८ अंक प्राप्त गरे । दोस्रो भएका कौशल थापाको पनि ८ अंक रहेपनि इश्वर प्रथम हुँदा थापा दोस्रो भए । यस्तै सात अंकका साथ अनिज पोखरेल तेस्रो भए । उनीहरुले क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै आदर्श गौतम चौथो र सुजना रानाभाट पाँचौ भए । यु–१६ तर्फ संगम सिम्खडा, यु–१४ तर्फ संकल्प श्रेष्ठ र यु–१० तर्फ प्रसंशा भण्डारी प्रथम भए । उनीहरुले समान पाँच पाँच सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित भए भने प्रशंसा भण्डारी महिला विजेता भएकाले एक हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।





