पोखरा/नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले एक भव्य समरोहबीच कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत, अभिभावकलाई सम्मान र अभिमुखिकरण तथा उत्प्रेरणाको कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा १४ छिनेडाँडामा सन् १९९९ मा स्थापना भएको कलेजमा नयाँ शैक्षिक सत्रका लागि १०० जना खुल्ला तथा छात्रबृत्तितर्फ ६ जनासहित १०६ जनालाई उनीहरुका अभिभावकसंगै शनिबार स्वागत गरिएको हो ।
उक्त अवसरमा कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, भाइस प्रिन्सिपल राजकुमार कार्कि, आवास व्यवस्थापक जोक बहादुर थापा, प्लस टू कोअर्डिनेटर दिनेश यादव, नारायण खड्का, बोर्ड सदस्य जयराम हमाल, कर्मा गुरुङ, नारायण द्वा, हरि पराजुली, सल्लाहकार कृष्ण थापा, डा अनिल सुवेदी लगायतले फूलमाला र खादा लगाएर स्वागत गरेका हुन् ।
यसपटक कक्षा ११ को भर्ना आव्हान गरिएको ३ घन्टामा माग गरिएको १०० संख्या पूरा भएको र ६ जना स्कलरसिपसहित १०६ जना विद्यार्थीलाई स्वागत गरिएको प्रिन्सिपल प्रकाश गरेग्मीले जानकारी दिए ।
नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेजले कमाएको सम्पती भनेको विद्यार्थी तथा अभिभावकले गरको विश्वास नै हो । रेग्मीले भने, कलेजले कमाएको त्यही विश्वासको कारण अन्तराष्ट्रमा पनि राम्रो सन्देश गएको छ । हाम्रा विद्यार्थी कोहि पनि बेरोजगार छैनन् । विदेशमा त फाइभस्टार होटलमा काम गरिरहेका छन् ।
कलेजका अध्यक्ष अशोक पालिखेले सिपयुक्त तथा बेरोजगार भएर बस्न नपर्ने शिक्षा अध्ययनका लागि एनटिएचएमसिलाई रोजेकोमा अभिभावक तथा विद्यार्थीलाई आभार व्यक्त गरे ।
उनले भने, हामीले स्थापनाको २५ औं वर्षको अवसरमा विभिन्न कार्यक्रमहरु गरिरहँदा यहाँ अध्ययन गरेका विद्यार्थीहरुको प्रगतिबाट खुसि छौं । कोहि अहिले बेरोजगार भएर बसेका छैनन् । कति स्वरोजगार भएका छन्, कतिले अरुलाई रोजगार दिन सफल भएका छन् भने कति विदेशमा पाँच तारे होटलमा सेफ भएर काम गरिरहेका छन् ।
अध्यक्ष पालिखेले १९९९ मा विभिन्न क्षेत्रका ११४ जनाले पोखरालाई शिक्षा र पर्यटनको हब बनाउने उदेश्य राखेर नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज खोलिएकोमा अहिले आएर यसको महत्व झन् बढेर गएको बताए ।
हामीकहाँ फाइभस्टार होटलकोभन्दा पनि राम्रो ल्याव रहेको छ । विद्यार्थीले सैद्धान्तिक तथा व्यवहारिका ज्ञान हाँसिल गरिरहेका छन् उनले भने ।
विद्यार्थीलाई सल्लाह दिदै पालिखेले पोखरा बजारमा कहिबाट पनि आउन जानका लागि बसको व्यवस्था गरिएकोले अन्य सवारी साधनको आवश्यक्ता नभएको तथा अभिभावकलाई मोटरसाइकल स्कुटरको माग नगरी आर्थिक मितव्ययीता अपनाउन आग्रह गरे । अभिभावकले आफ्ना बच्चाहरुको पढाई कस्तो भईरहेको छ । केहि सल्लाह, सुझाव दिनु परेमा निर्धक्कले भन्न र कलेजमा भेट गर्न आग्रह गरे ।
सो अवसरमा अध्यक्ष पालिखेले यसवर्षबाट कलेजमा इएमबिए पढाई शुरु हुन लागेको जानकारी दिए । व्याचलर गरेर दुई वर्ष पूरा भएको कुनैपनि विद्यार्थीले यसको अध्ययन गर्न पाउनेछन् । यसको पढाई बेलुका साढे ५ देखि ८ बजेसम्म संचालन हुनेछ जो ३ सेमेष्टरको रहेको छ ।
काठमाडौंबाट अभिमुखिकरणका लागि पोखरा आएका वरिष्ठ शिक्षासेवी, एनएलपी ट्रेनर तथा कोच जोस बहादुर निरौलाले विद्यार्थीहरुलाई हौसला बढाउदै भने, अबको १०, १५ वर्षपछि अहिलेका बच्चाहरु ठूला ठूला होटल, रिजोर्टका मालिक हुनेछन् । यीनिहरुमा ठूलो भविष्य लुकेको छ । पक्कै पनि कोहि सफल राजनीतिज्ञ, देशको नेतृत्वकर्ता, महान कलाकार, लेखक, वैज्ञानिक वा नाम कहलिएको व्यक्ति हुनेमा म ढुक्क छु निरौलाले भने ।
हामी संभावनै संभावना भएको देशमा छौं । यही देशमा केही गर्न सकिन्छ । हामी नेपाली आतिथ्यताका धनी छौं । हस्पिटालिटी कहिल्यै नमर्ने पेशा हो । यही विषय रोजेर भाइबहिनीहरु अध्ययन गर्न आउनु भएको छ, यही हस्पिटालिटी क्षेत्रको अध्ययनको रोजाईले तपाँईको भविष्य सुनिश्चित गर्नेछ ।
कुनै पनि देश बन्नका लागि परिवार नबनि हुँदैन । त्यसैले हरेक परिवार बन्नुपर्छ, टोल बन्नुपर्छ, जिल्ला बन्नु पर्छ अनि मात्रै देश बन्छ । त्यसैले परिवार संस्कारयुक्त हुन जरुरी छ र त्यसमा शैक्षिक संस्कार अनिवार्य आवश्यक्ता हो निरौलाले भने । विद्यार्थीले अब ज्ञान, अनुशासन र सिपको दायरालाई बढाउनु पर्छ । जिवन चुनौतीले भरिएकोले यसलाई समस्या नमानि सामना गरेर अघि बढ्नुपर्ने बताए ।
बच्चामा अभिभावकले भविष्य देख्नुपर्छ र उनीहरुप्रति मैत्रीपूर्ण, चोट नपुग्ने र मन नदुख्ने गरी व्यवहार गर्नुपर्ने निरौलाले बताए । उनले भने, बिद्यार्थी असल बिउ हुन् उनीहरुलाई आवश्यक्ता अनुसारको सहयोग र व्यवहार गर्नुपर्छ अनि निगरानी पनि । यदी एउटा बच्चा बिग्रियो त्यो नेपाल आमा बिग्रेको हुन्छ ।
निरौलाले बच्चाहरुसंग प्रशन्न भएर, खुलेर कुरा गर्ने र उनीहरुका कुराहरु राम्रोसंग सुन्ने बानि बसाल्नु पर्ने, बेला बेलामा उनीहरुसंग बसेर सकारात्मक उर्जा थप्ने खालका संवादहरु गर्ने र माया गर्नाले उनीहरुको बृद्धि बिकासमा पनि सकारात्मक नतिजा आउनेमा विश्वस्त रहन अनुरोध गरे ।
विद्यार्थीलाई सफलता प्राप्त गर्नका लागि महत्वपूर्ण १० कुराहरुमा ख्याल राख्न अनुरोध गरे । उत्प्रेरक निरौलाले भने, विद्यार्थीले निरन्तर अध्ययनको बानि बसाल्नु पर्ने, निरन्तर कलेज जानुपर्ने, च्याप्टर अध्ययन, अध्ययन डायरी बनाउनु पर्ने, स्वस्थ खाना खाने, व्यायाम गर्ने, ८ घन्टा सुत्ने, १० मिनेट मेडिटेशन गर्ने, संगीत सुनेर सुत्ने र उठ्दा मुस्कुराउदै उठ्ने बानिको विकास गर्नुपर्ने सुझाए । छुट्ने बेलामा भने, सबैले गर्वले भनौं हामी नेपाली हुनुमा गर्व छ ।
कार्यक्रमका कक्षा १२ का विद्यार्थी श्रेया, निकिता, सोनिया, कृतिका, एञ्जल लगायतले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
शिक्षक शुरेसराज अधिकारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष अशोक पालिखेले गरेका थिए भने सहभागि विद्यार्थी, अभिभावकलाई प्रिन्सिपल प्रकाश रेग्मीले आभार व्यक्त गरे ।
सो अवसरमा रेग्मीले भने, जुन विश्वासले छोराछोरीलाई अध्ययनका लागि एनटिएचएमसि ल्याउनु भयो हामीले शतप्रतिशत भूमिका निर्वाह गछौं । तर बच्चाले के गरिरहेका छन् भनेर अभिभावकले पनि कलेजमा आएर सरसल्लाह गर्ने, सोधपुछ गर्ने बानिको विकास गरेमा शैक्षिक उन्नयनका लागि फाइदा हुन्छ ।





