स्याङजा/अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ ।
यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो ।
सहकारीका संरक्षक टुकराज अर्यालले पालिका भित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उद्देश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताए ।
जगलमा पुगेर खोजेर ल्याएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने छ ।
मेसिनले च्यापेर दुना टपरी बनाउने भएपनि पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको बनाउने भन्ने काम चाहिँ हातैबाट गरिनेछ । पाँचवटा डाईमार्फत् मेसिनले साना दुनादेखि ठुला टपरी बनाउने छ भने दुनाकोप्रति गोटाको तीन रुपैयाँ र टपरीको आठ रुपियाँसम्म पर्ने छ ।
पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चा पदार्थको सानाको एक रुपैयाँ र ठूलाको तीन रुपैयाँसम्म महिलाहरुले पारिश्रमकि पाउने छन् ।
आमा, दिदी–बहिनीले बनाएर ल्याएको पातको कच्चा पदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम भने सहकारीमा रहेका कर्मचारीले गर्नेछन् । दुना सिधै दुईवटा पातबाट बन्ने छ भने टपरीलाई सिन्कोले जोडेर बनाउने गरिएको छ ।
पहिलो चरणमा २० जना आमा, दिदी–बहिनी पातबाट कच्चा पदार्थ बनाएर आय आर्जनमा जोडिएका छन् ।
मुख्य गरेर बिवाह, ब्रतबन्ध र पूजापाठमा प्रयोगमा आउने दुना टपरीलाई अब बाहिरबाट ल्यान नपर्ने पालिका बनाउने अर्यालले बताए ।
दुई लाख ९४ हजार रुपैयाँमा सहकारीले आफै मेसिन खरिद गरेर ल्याएर दुना टपरी बनाउन थालेको हो ।
मेसिनबाट एक दिनमा दुई हजार पाचँ सय वटा टपरी र दुना बन्ने बताउदै अर्यालले बाहिरबाट माग भए बिक्री समेत गर्ने जानकारी दिए ।
दुना टपरी बनाउने र बिक्री बितरण गर्ने काको सुरुवात गदैै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताए ।




